काठमाडौं – सर्वाधिक प्रतीक्षा गरिएको हिन्दी फिल्म कलंकको ट्रेलर बुधवार सार्वजनिक गरिएको छ ।
ट्रेलरमा फिल्मका सबै मुख्य अभिनेता वरुण धवन, आलिया भट्ट, माधुरी दीक्षित, सञ्जय दत्त, सोनाक्षी सिन्हा र आदित्य रोय कपूर देखिएका छन् ।
यसअघि सार्वजनिक भएको टीजरमा कुनाल खेमु देखिएका थिएनन् तर ट्रेलरमा उनी पनि अटाएका छन् ।
फिल्मले मायाप्रेम, अनुराग र अन्तर्धार्मिक संघर्ष देखाएको छ । आदित्य रोय कपूर (देव) की दोस्री पत्नी रूप (आलिया भट्ट) मुसलमान युवक जफर (वरुण धवन) को प्रेममा परेको देखाइएको छ । भारत विभाजन भएर हिंसा मच्चिँदा उनीहरूबीचको प्रेम फक्रेको देखाइएको छ ।
ट्रेलरको प्रारम्भमा एउटा ठूलो हलमा नर्तकीले नाचेको लङ शट देखाइएको छ । त्यसपछि ट्रेलरले पात्र र तिनका द्वन्द्वलाई स्थापित गरेको छ ।
भारत स्वतन्त्र हुनुभन्दा अघिको समयको कथा कलंकमा देखाइएको छ । फिल्मका सेटहरू भव्य छन् र सुन्दर लोकेसनमा तिनको शूटिङ गरिएको छ । फिल्मका द्वन्द्व दृश्य निकै भव्य छन् । वरुण धवनले स्टन्टहरू आफैं गरेको बताइएको छ ।
फिल्मका निर्माता करण जोहर हुन् र यो फिल्म करणका स्वर्गीय पिता यश जोहरको ड्रीम प्रोजेक्ट बताइएको छ । यसको कथाको अवधारणा वर्षौंअघि बनाइएको बताइएको छ ।
फिल्ममा दुई दशकपछि सञ्जय दत्त र माधुरी दीक्षित जोडी बनेका छन् । वरुण र आलियाको संयुक्त अभिनय रहेको यो चौथो फिल्म हो ।
फिल्मको निर्देशन अभिषेक वर्मनले गरेका हुन् । यो फिल्म अप्रिल १७ मा प्रदर्शनमा आउनेछ ।
एजेन्सी