
कर्नाटक- भारतको कर्नाटक प्रदेशका पूर्वमुख्य सचिव के रत्ना प्रभा बुधबार भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गर्नुभएको छ ।
भाजपा अहिले मुलुकको सबैभन्दा लोकप्रिय पार्टी भएकाले आफूले पनि यही पार्टी रोजेको उहाँले बताउनुभयो । प्रधानमन्त्री मोदी गाँउगाँउमा गएर विकासका लागि जनतासँग अन्तरक्रिया गरिरहेको र उहाँमा विषेश व्यवहार पाएको उहाँको भनाइ छ ।
आफूले भाजपामा प्रवेश गर्नु पर्नाको कारणका बारेमा थप व्याख्या गर्दै उहाँले भन्नुभयो, “मैले अवकाश प्राप्त जीवनलाई कसरी उपयोग गर्ने भन्ने सोचिरहेको थिएँ, भाजपामार्फत नै देशको सेवामा लाग्नु उपयुक्त हुने निश्कर्षमा पुगेर यसमा प्रवेश गरेको हुँ ।”
उहाँले आफूलाई पार्टीका नेताहरुले पनि बोलाएर पार्टीमा प्रवेश गर्न आग्रह गरेको जानकारी दिनुभयो । “राजनीति नै जनताको विचमा पुग्ने सबैभन्दा राम्रो उपाय हो, म यही पार्टीमार्फत पछाडि पारिएका र महिलाहरुको लागि काम गर्न चाहन्छु,” उहाँले भन्नुभयो ।
भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा निर्वाचन हुन लागेको छ । निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा पार्टी प्रवेश गर्ने र परित्याग गर्नेहरुको सङ्ख्या बढिरहेको छ भने चुनाव प्रचारप्रसार पनि तीब्र भएको छ ।