०४ साउन २०८३, सोमबार

यी क्षेत्रमा हड्ताल नपाइने सरकारको निर्णय, विमानस्थलबाट समातिए भारतीय सुन तस्कर

यी क्षेत्रमा हड्ताल नपाइने सरकारको निर्णय, विमानस्थलबाट समातिए भारतीय सुन तस्कर

काठमाडौँ– अत्यावश्यक सेवामा हडताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने भएको छ । सरकारले अत्यावश्यक सेवामा अवरोध गर्न नपाउने  निर्णय  गरी सो को जानकारी राजपत्रमार्फत गराउने भएको हो ।

सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 

मन्त्रिपरिषद्को यही चैत १४ गतेको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो निर्णय गरेको उनले जानकारी दिए ।

 मन्त्रिपरिषद्का निर्णयअनुसार टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग,  सञ्चार क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, पेट्रोलियम पदार्थ, एलपी ग्यास, अस्पताल, एम्बुलेन्स, औषधि उत्पादन फोहरमैला व्यवस्थापन विद्युत्, दैनिक खाद्य वस्तु, बैंक बीमालगायतका क्षेत्रमा हडताल गर्न पाइने छैन । सो सम्बन्धी व्यवस्थासहितको सूचना छिट्टै राजपत्रमा प्रकाशित हुनेछ । 

 

सरकारले प्रत्येक ६÷६ महीनामा अत्यावश्यक क्षेत्र तोेकेर हडताल गर्न पाइने घोषणा गर्नसक्ने व्यवस्था छ । ती क्षेत्रमा कुनै समस्या देखिएको अवस्थामा सरकारले आवश्यक सहजीकरण गर्ने समेतमन्त्री बाँस्कोटाको भनाइ छ । 

यस्तै सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरिएको छ । ठूला बस, ट्रक, साना तथा हलुका सवारी साधन र मोटरसाइकलको  सडक उपभोग गरेवापतको उपभोग दस्तुरमा वृद्धि गरी त्यसको सूचना समेत राजपत्रमा प्रकाशित गरिनेछ । 

यस्तै सरकारले युनाइटेड सिमेन्टसको धादिङ नौबिसेस्थित सिमेन्ट काराखानास्थलसम्म जानेआउने औद्योगिक पहुँचमार्ग निर्माण तथा सञ्चालन गर्नका लागि धुनबेँसी–९ मा रहेको रहेको पोखरी डाँडा सामुदायिक वनको शून्य दशमलव १७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ ।

आँधीपीडितका घर बनाउने जिम्मा सेनालाई

काठमाडौँ– प्रदेश नं २ मा हालैको आँधीहुरीबाट घरबास गुमाएका वारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ । 

जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् शुरु हुनुअघि नै आँधीप्रभावित घरवारविहीन परिवारलाई हस्तान्तरण गरिने छ ।

सङ्घीय सरकारले यस्ता आवासको निर्माणकार्यको समन्वय र सहजीकरणका लागि प्रदेश नं २ का मुख्य सचिवलाई संयोजनको जिम्मेवारी दिएको छ । यस समितिमा शहरी विकास मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र रक्षा मन्त्रालयका तर्फबाट नेपाली सेनाका प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ ।

यी आवासको निर्माण गर्ने जिम्मा नेपाली सेनाले पाएको छ । 

सुनसहित चार भारतीय पक्राउ

काठमाडौँ–नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ८१४ ग्राम अवैध सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

थाइल्याण्डको बैंककबाट नेपाल आएका चार भारतीयबाट सो परिमाणको सुनको गहना बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।  पक्राउ पर्नेमा जतीन जैन, सुनिता, बविता गार्ग र सरिता जैन रहेका छन् । 

पौडेलको हत्याका अभियुक्त पक्राउ

बारा– गत फागुन १० गते राति हत्या गरिएकी कपिलवस्तु, वाणगङ्गा नगरपालिका वडा नं ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अभियुक्तलाई अनुसन्धान गर्दै जाँदा भारतबाट पक्राउ गरेको हो । हत्यामा संलग्नको नाम, थर र विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन । 

अहिले हिरासतमा रहेको र शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गरिने कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले बताए । 

बारमा श्रेष्ठ विजयी

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणनामा अध्यक्षका अर्का उम्मेदवार सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए । 

मतपरिणामअनुसार २५ जनाको केन्द्रीय कार्यसमितिमा प्रगतिशिल समूहका २२ जना निर्वाचित भएका छन् ।   

प्रदेश नं ५ का उपाध्यक्ष, महासचिव र एक खुला मधेशी÷मुस्लिम सदस्यबाहेक सबै पदमा प्रगतिशिल समूहका उम्मेदवार निर्वाचित भएका हुन् । 

न्यायाधीशको संसदीय सुनुवाइका लागि उजूरी आह्वान

काठमाडौँ–संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच न्यायाधीश विरुद्व सुनुवाइका लागि उजूरी आह्वान गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले न्याय परिषद्ले यही चैत २८ गते सिफारिस गरेका पाँचै न्यायाधीश विरुद्व उजूरी गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको जानकारी दिए । 

 समितिले शुक्रबार उनीहरु विरुद्व उजूरी आह्वानका लागि सूचना प्रकाशित गर्नेछ । 

न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मलता माथेमा, पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र डा मनोजकुमार शर्माको नाम सिफारिश गरेको थियो । 

जिल्ला सभापतिको माग

काठमाडौँ–नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय महासमिति बैठकको भावनाविपरीत रहेको भन्दै त्यसमा पुनःविचार गर्न माग गरेका छन् । 

काठमाडौँमा बिहीबार सम्पन्न जिल्ला सभापतिहरुको दुई दिने अनौपचारिक भेलाले सबै पदाधिकारी र केन्द्रीय सदस्य पार्टीको वडा तहबाटै निर्वाचित हुनुपर्ने आग्रह गरेका छन् । साथै पार्टीको समानुपातिक आरक्षण सुविधा एक व्यक्तिका लागि एकपटक मात्र लागू हुनुपर्ने व्यवस्था गर्न भेलाले माग गरेको छ । 

नेपाल अल्पविकसितको सूचीबाट हट्ने

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पन्ध्रौँ आवधिक योजना अवधिमा नेपाल अल्पविकसितको सूचीबाट हटेर विकसित मुलुकमा स्तरोन्नतिका लागि आधार तयार हुने बताएका छन् । 

राष्ट्रिय विकास परिषद्को दुई दिने बैठकको बिहीबार समापन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरतासँगै सरकार तीव्र आर्थिक विकासको प्रक्रियामा अघि बढेको बताए । 

राष्ट्रिय योजना आयोगले तयार गरेको पन्ध्राँै योजना आगामी आवबाट कार्यान्वयनमा ल्याइनेछ । योजनाको आधारमा दीर्घकालीन सोचसहितका २५ वर्षे रणनीति बनाइने छ । योजनाले भौतिक पूर्वाधार, सामाजिक सुधार, सुशासन, ऊर्जा, कृषि, पर्यटन आदि विषयलाई प्राथमिकता दिएको छ ।

दुई प्रहरीसहित छ जना पक्राउ  

सप्तरी– एसइई परीक्षाको दुई विषयको परीक्षा हुनु अगाडि नै प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई प्रहरी जवान र एक शिक्षकसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।   

 केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राजविराज नगरपालिका–१६ का २८ वर्षीय शिक्षक मनोज यादव, राजविराज नगरपालिका–१० का २८ वर्षीय विष्णुदेव यादव, हनुमानगर कङ्काल्नी नगरपालिका–१ का १७ वर्षीय राजेश यादव, सोही ठाउँका १८ वर्षीय उमेश यादव, राजविराज नगरपालिका– १० का २२ वर्षीय ब्रह्मदेव सुनरैत र कञ्चनरुप नगरपालिका–६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डललाई सार्वजनिक गरिएको हो । 

आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्रकुमार प्रहरी जवान भएको बताइएको छ । उनीहरु इलाका प्रहरी कार्यालय कल्याणपुर, सिरहामा कार्यरत थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का निरञ्जन भट्टको नेतृत्वमा प्रदेश नं २ का प्रहरी कार्यालय जनकापुर र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । 

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीको बैठक 

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताए । 

बैठकमा सहभागी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका अनुसार प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद्को अघिल्लो बैठकले निर्णय गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने विश्वास पनि व्यक्त गरेका छन् । 

फिफा वरियतामा नेपाल यथावत्

  काठमाडौँ–फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१आँैं स्थानमा थियो ।

दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औँ र माल्दिभ्स १५१औँ स्थानमा छन् । नेपाल भन्दा तल रहेको भूटान १८६औँ, बङ्गलादेश १८८औँ, पाकिस्तान २०० र श्रीलङ्का २०२ स्थानमा छन् ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, क्रोएसिया पाँचौँ, उरुग्वे छैटौँ, पोर्चुगल सातौँ, स्विटजरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दर्शौँ स्थानमा रहन सफल भएका छ्न । 

 

 

 

 

 

salt training

कमेन्ट गर्नुहोस्