काठमाडौँ, ४ चैत - सांसद आफैंले पूर्वपदाधिकारीको सुविधा माग गरेका छन्। पूर्वपदाधिकारीको कोटामा सांसदहरूलाई पनि राख्नुपर्ने भन्दै पाँच सांसदले पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्नेसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
आजको राजधानी लेख्छ- कांग्रेसका चार र फोरम लोकतान्त्रिकका एक सांसदले पूर्वसांसदलाई यातायात, औषधि उपचार र अन्य सुविधा माग गरेका छन्।
सरकारले पूर्वपदाधिकारीको कोटामा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षलाई राखेर विधेयक ल्याएको थियो।
संशोधन प्रस्ताव राख्नेहरूमा कांग्रेसका सांसदहरू तप्तबहादुर बिष्ट, सञ्जय गौतम, राजीवविक्रम शाह र नरबहादुर चन्द छन्।