
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई आर्थिक सहयोग गर्ने भएको छ ।
गाउँपालिका क्षेत्रभित्रबाट बढी नम्बर ल्याएर एसईई पास गर्ने विद्यार्थीलाई उच्च शिक्षाका लागि प्रोेत्साहनस्वरुप रु १० हजार र विद्यालयलाई थप हौसलास्वरूप रु एक लाख दिने भएको हो ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई नगद सहयोग गर्ने नीति लिएको शिक्षा समितिका सदस्य कमलप्रसाद न्यौपानेले बताए । 'गुणस्तरका लागि पालिकाभित्रका विद्यालय–विद्यालय र विद्यार्थी–विद्यार्थीबीचमा प्रतिस्पर्धा भइरहेको छ,' खिजीकातीका वडाध्यक्षसमेत रहेका न्यौपानेले भने, 'गत वर्षबाट हामीले छात्रवृत्ति कार्यक्रम ल्याएर उत्कृष्ट हुनेलाई सहयोग गर्दै आएका छौं ।' कक्षा ८ र एसइईमा बढी अंक ल्याउने छात्रछात्रा, उच्च शिक्षा अध्ययन गर्ने जेहेन्दार विद्यार्थी, दलित, अपांगलगायतलाई गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।
गाउँपालिकाले शैक्षिक विकासलाई प्राथमिकता दिँदै आएको छ । सामुदायिक विद्यालयको शिक्षामा स्थानीयवासीको आकर्षण बढाउन पालिकाको तल्लो तह देखिनै विभिन्न अभ्यास थालिएको वडाध्यक्ष राम सुनुवारको भनाइ छ । 'शिक्षाबिनाको विकास कल्पना पनि गर्न सकिन्न त्यसैले गाउँकै स्कुलमा गुणस्तरीय शिक्षा दिन स्थानीय सरकारले भूमिका खेलिरहेको छ,' सुनुवारले भने ।
खिजीदेम्बाले नीतिगत निर्णय गरेर बुहारी छात्रवृत्ति सहितका कार्यक्रम ल्याएको छ । विद्यालय गएर पढ्ने बुहारीलाई छनोट गरेर वार्षिक छात्रवृत्ति दिने गरेको छ ।