०७ असार २०८३, आइतबार
संस्कार/परम्परा

बच्चामै लिङ्गको छाला काट्ने ‘मुसलमानी’ : अस्पताल गएर सुरक्षित शल्यक्रिया गर्ने कि ?

चैत २७, २०७५
बच्चामै लिङ्गको छाला काट्ने ‘मुसलमानी’ : अस्पताल गएर सुरक्षित शल्यक्रिया गर्ने कि ?

जनकपुरधाम – महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का आशिक शेषका २ महिने बालक फिरोज शेषको जनकपुर अञ्चल अस्पतालमा गत चैत्र २५ गते उपचारको क्रममा मृत्यु भयो । गाउँमा ‘मुसलमानी’ गर्न बालकको संवेदनशील अंग लिङ्गको छाला काटेपछि अत्यधिक रक्तश्राव हुँदा उपचारको क्रममा फिरोजको मृत्यु भयो ।

‘गाउँमा नै बालकको लिङ्गको छाला काटिएपछि अत्याधिक रक्तश्राव हुँदा संक्रमण समेत भएकाले बालकको मृत्यु भयो,’ जनकपुर अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जामुन सिंहले भने, ‘यद्यपि बालकको मृत्युको खासकारण पोस्टमार्टमको रिपोर्ट आएपछि खुल्ने छ ।’ बालकको पोस्टमार्टम गरिसकिएको उनले बताए ।

मुस्लिम समुदायमा बालकको लिङ्गको टुप्पोतिरको बाहिरी छालालाई काट्ने गरिन्छ । त्यसलाई नै ‘मुसलमानी’ भन्ने गरिन्छ । कतिपयले त्यसलाई ‘खतना’ समेत भन्ने गर्छन् ।

मुस्लिम देशमा प्रायःजसो बालकको मुसलमानी अस्पतालमा चिकित्सकद्वारा नै गरिन्छ । तर गाउँमा चक्कु वा छुराले ‘मोल्बी’ आदिले मुसलमानी गर्दा कतिपय बालकको अत्यधिक रक्तश्राव हुने, संक्रमण हुने गरेको डा. सिंहले बताए । 

‘मुसलमानीका कारण यसअघि मृत्यु नै त भएको जानकारी छैन, यो पहिलो घटना हो,’ डा. सिंहले लोकान्तरसँग भने, ‘तर संक्रमित भएको अवस्थामा धेरै बालकहरू अस्पतालमा भर्ना भइरहेकै हुन्छन् ।’

अस्पतालमा आएर मुसलमानी गर्दा राम्रो हुन्छ । तर शुरूमा अस्पताल नआउने र संक्रमित भएको अवस्थामा आउँदा ज्यान जाने जोखिम समेत हुने उनले बताए ।

‘प्रदेश सरकारलाई पत्र नै लेखेर मुसलमानी गर्दा अस्पतालमा नै गर्नुपर्ने व्यवस्था बनाउन आग्रह गर्दैछु,’ डा. सिंहले भने, ‘प्रदेश सरकारको मुख्यमन्त्री पनि मुस्लिम समुदायकै रहेका कारण पनि उक्त व्यवस्था बनाउन सहज हुने हामीले अनुमान गरेका छौं ।’

मुस्लिम समुदायमा जन्मिने बालकलाई अनिवार्य रुपमा खतना गर्नैपर्छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका प्रवक्ता मोहम्मद साजिद हुसैनका अनुसार मानिसलाई ‘पाक साफ’ (पवित्रता) गर्न खतना गरिन्छ ।

‘इस्लाम धर्ममा पिसाबलाई नापाक अर्थात् अपवित्र मानिएको छ,’ हुसैनले थपे, ‘लिङ्गको टुप्पोतिरको बाहिरी गोलो छाला काटेपछि मुस्लिम समुदायले पिसाब गर्दा लिङ्गमा अड्किएर बस्दैन ।’ अन्यथा पिसाब लिङ्गमा रहिरहने हुनाले लिङ्ग अपवित्र हुने गर्छ ।

‘मुसलमानी नगराए मुसलमान नहुने होइन,’ उनी भन्छन्, ‘तर मुसलमानमा कुनै पनि यस्तो पुरुष छैनन्, जसले मुसलमानी गराएको हुँदैन ।’

मुस्लिम समुदायका धर्म गुरु मौलाना इजरायल अहमद रिजबी पनि मुसलमानी अनिवार्य रहेको बताउँछन् । तर फलानो मानिसले नै गर्नुपर्छ वा फलानो स्थानमा नै गर्नुपर्छ भनेर किटान नगरिएको उनले बताए ।

‘मान्छेलाई जहाँ सुविधा हुन्छ, जुन व्यक्तिद्वारा सुविधा हुन्छ, त्यसअनुसार गर्न सकिन्छ,’ मौलाना रिजबीले थपे, ‘तर मुसलमानी अर्थात् खतना भने गर्नैपर्छ । यो अनिवार्य नै हो । तर कति उमेरमा गर्नुपर्छ भन्ने कुरा पनि किटान गरिएको छैन ।’ मान्छेलाई सहज जुन बेला हुन्छ, त्यही बेला गर्ने गरेको उनले बताए ।

मुसलमानी गर्नका लागि मुस्लिम समुदायको हजामले (कपाल काट्ने व्यक्ति) टुप्पोतिरको बाहिरी छाला लिङ्ग काट्ने गर्छन् । प्रायःजसो गाउँको मुस्लिम समुदायको आफ्नै हजाम हुने गर्छ । त्यही हजामले विधिविधान अनुसार खतना गर्ने गर्छन् । शुरूमा हजामले फातिया पढ्छन् । पूजा गर्दा मन्त्र पढ्नेजस्तै मुस्लिम समुदायमा मन्त्र उच्चारण गरेर फातिया पढ्ने गरिन्छ ।

बालकलाई सामान्य पूजा गरेर घैला वा मचिया वा ठूलो पिँढीमा बालकलाई बसाउँछन् । ‘त्यसपछि बाँसको करचीले बनेको औजारले लिङ्गको बाहिरी गोलो छाला काटेर उल्ट्याइदिने गर्छन्,’ गठबन्धनका प्रवक्ता हुसैनले भने, ‘अनि रक्तश्राव रोक्नका लागि लिङ्गमा खरानी दलिदिने गर्छन् ।’ १ हप्ता जति घाउ रहने र त्यसपछि निको हुने गरेको उनले बताए । हजामले त्यसपछि आफ्नो पारिश्रमिक स्वरूप पैसा र चामल लगायत खाद्यान्न पाउने गर्छन् ।

घरमा खतना गर्ने प्रक्रिया गलत रहेको उनी पनि तर्क गर्छन् । ‘मुसलमानी वा खतना गर्दा अस्पतालमा नै चिकित्सकको हातबाट शल्यक्रिया गराएर गर्नुपर्छ,’ उनले भने । मौलाना रिजवी पनि फलानो व्यक्ति वा हजामले नै गर्नुपर्छ भन्ने कुरा कतै नलेखिएको बताउँछन् । सुरक्षित तरिकाले अस्पतालमा हुन्छ भने त्यसको लागि अस्पतालमै लैजान लोकान्तरमार्फत मुस्लिम समुदायलाई अनुरोध समेत गर्छन् ।

कतिपय बालक जन्मिएको छैठौ अर्थात् छठीहार हुने दिनमै खतना गराउँछन् भने कतिपयले ५ बर्षको उमेरसम्म पनि गराउने गर्छन् । बाल्यकालको अवस्थामा खतना गर्दा घाउ छिट्टै निको हुने र पीडा हुँदा बालकलाई आमाले दूध खुवाएर भुल्न मद्दत हुने हुनाले ६ महिनाभित्र अधिकांशको खतना हुने गरेको हुसैनले बताए ।

कमेन्ट गर्नुहोस्