
काठमाडौं – भारतको निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बनेको फिल्म पीएम नरेन्द्र मोदी तथा अन्य बायोपिक फिल्ममाथि रोक लगाएको छ ।
समाचार संस्था एएनआईका अनुसार, चुनाव आयोगले पीएम नरेन्द्र मोदी, एनटीआर लक्ष्मी र उद्यमा सिंहम् फिल्मविरुद्धको उजुरीमा यो फैसला गरेको हो ।
यी फिल्मका विषयमा चुनाव आयोगले बतायो, ‘यिनमा आदर्श आचारसंहिता अनुरूप समान अवसरलाई प्रभावित गर्ने क्षमता छ र आदर्श आचारसंहिता लागू भएको मितिसम्म यिनलाई विद्युतीय माध्यम वा सिनेमाहलमा देखाउन पाइने छैन ।’
विगत केही दिनयता पीएम नरेन्द्र मोदी फिल्म विवादको केन्द्रमा छ । फिल्म बिहीवार सार्वजनिक हुन लागेको थियो तर यसमा रोक लगाइएको छ ।
आयोगले लगाएको यो रोक चुनाव नसकिएसम्म लागू हुनेछ । चुनावमा यस फिल्मलाई नरेन्द्र मोदीको छवि चम्काउनका लागि ल्याउन लागिएको भनी आरोप लगाइएको थियो ।
तर फिल्मसँग जोडिएकाहरूले यी आरोपको खण्डन गरेका छन् ।
निर्देशक उमंग कुमारको यस फिल्ममा अभिनेता विवेक ओबरोयले प्रधानमन्त्री मोदीको भूमिका निर्वाह गरेका छन् ।
फिल्मविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले फिल्मबाट आचारसंहिताको उल्लंघन भए नभएको हेर्ने काम निर्वाचन आयोगको भएको बताएको थियो ।
मंगलवार सर्वोच्च अदालतको फैसलापछि चुनाव आयोगले यसबारे निर्णय लिनुपर्ने थियो । आयोगले यसमाथि रोक लगाउने फैसला लिएको छ ।
बीबीसी हिन्दीबाट