
भीमदत्तनगर- कञ्चनपुरमा नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो केही दिनयता भारतबाट रोजगारी गरेर घर फर्किने नेपाली लुटिने क्रम बढेको छ । नयाँ वर्ष (विशु पर्व) मनाउन भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्किरहेका नेपाली मजदूर सीमा क्षेत्रमा नेपाली तथा भारतीय लुटपाट गर्ने गिरोहको निशाना बनिरहेका छन् ।
भारतको अल्मोडाबाट मजदूरी गरेर फर्किने क्रममा मंगलवार बेलुकी भीमदत्तनगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा नेपालीबाटै मुगुको लिबू गाउँपालिका–२ का ५० वर्षीय लालबहादुर शाही, १९ वर्षीय राजेश शाही र १८ वर्षीय नवीन बुढा नगद र सामानसहित लुटिएका छन् ।
जिल्ला प्रहरी कार्यालयले ब्रह्मदेव क्षेत्रमा उनीहरूलाई जुसमा नशालु पदार्थ खुवाएर लुटपाट गरिएको जनाएको छ । तीनसित रहेको २५ हजार भारु, तीन थान मोबाइल र अन्य लत्ताकपडा लुटेराले लगेका छन् । 'दुई नेपाली युवाले नै हामीलाई नजिकपर्छ भनेर टनकपुरहुदै ब्रह्मदेव पुर्याए,' शाहीले भने, 'खाजा खाउँ भने जुस खाएको त तीन जना बेहोस भएछौं ।'
केही समयपछि होसमा आएका शाहीले ब्रह्मदेव सीमा प्रहरीचौकीमा खबर गरेपछि उनीहरूको घटनास्थलबाट उद्धार गरिएको थियो । आज बिहान जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन आएका शाही बाहेक अन्य दुई भने अर्थचेत अवस्थामै थिए ।
प्रहरीले भने लुटेराहरूको खोजीकार्य भइरहेको जनाएको छ । उद्धार गरिएकालाई दातृ निकायको सहयोगमा घर पठाउने तयारी हुँदैछ । तीनै जना गत मङ्सिर महिनामा रोजगारीका लागि भारत गएका थिए । त्यसैगरी कैलालीको मोहन्याल गाउँपालिका–२ का दुई युवक भारतबाट मजदूरी गरेर घर फर्किने क्रममा आज बिहानदेखि सीमावर्ती भारतीय बजार बनवासा क्षेत्रबाट सम्पर्कविहीन भएका छन् ।
मोहन्याल–२ का रमित घर्ती र गगन रोकामगर चार लाख भारुसहित सम्पर्कविहीन भएका हुन् । 'बनवासाको पवन होटलसम्म हिजो बिहानसम्म आएको भन्ने छ, तर होटल साहुलाई सोध्दा टाँगामा महेन्द्रनगर गएको बताउँछन्,' सम्पर्कविहीन दुई युवकसँगै काम गरेका मोहन्यालकै मिलन रोकामगरले भने, 'म अघिल्लो दिन यहाँ आइपुगेँ, उनीहरू हरिद्वार पुग्दासम्म सम्पर्कमै थिए ।'