२९ जेठ २०८३, शुक्रबार

पिपल्ला बजारमा पुनः सौर्यबत्ती जडान

पिपल्ला बजारमा पुनः सौर्यबत्ती जडान

डोटी- जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा जडान गरिएको सौर्यबत्तीले बजारवासीलाई सहज गराएको छ । यसअघि रकम भुक्तानी नदिएको भन्दै जडान गरिएका सौर्यबत्ती ठेकेदारले केही महीना पहिले निकालेर  लगेकाले बजार अन्धकार भएको थियो ।

बाँकी रकम दिने सम्झौता भएपछि पुनः ठेकेदारले बजारमा बत्ती जडान गरेको हो । सम्झौता अनुसारको रकम नदिएको भन्दै जडान गरिएका सौर्यबत्ती ठेकेदारले गएको फागुन २५ मा उखेलेर लगेको थियो । 

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी, ठेकेदार कम्पनी मनिङ सन्, उद्योग वाणिज्य संघका पदाधिकारी, निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्याल र पत्रकारसहितको बैठकले गरेको निर्णयानुसार ठेकेदार कम्पनीलाई बाँकी रकम उपलब्ध गराउने निर्णय गरेपछि निकालिएका  सौर्यबत्ती अहिले आएर पुनः जोडिएको हो ।

सौर्यबत्ती जडान गर्ने कम्पनीको मर्का, बत्तीमा ह्रासकट्टी र काममा ढिलाइ गरेकामा जरिवाना काटेर भुक्तानी दिन  निमित्त प्रमुख जिल्ला अधिकारी पौड्यालको आग्रहमा भएको सहमतिबमोजिम पुनः बजारमा बत्ती जडान गरिएको ठेकेदार वेदप्रकाश कठायतले बताए ।  

सहमतिबमोजिम सात दिनभित्रमा सबै सौर्यबत्ती बलेको हुनुपर्ने र उक्त अवधिमा नगरपालिकाका प्राविधिकले स्थलगत प्रतिवेदन बुझाएपछि नगरपालिकाले आगामी नगरसभाबाट बजेट पारित गरी भुक्तानी दिनुपर्ने सहमति भएको थियो । 

सम्झौता अनुसार कूल रु ३२ लाख ७२ हजार ९२५ मध्ये रु २३ लाख दुई हजार ५०० भुक्तानी लिइसकेको र जिल्लास्थित उद्योग वाणिज्य संघले व्यहोर्नुपर्ने रकम रु चार लाख ९० हजार ९३८ घटाउँदा रु चार लाख ७९ हजार ४८६ भुक्तानी दिन बाँकी देखिन्छ । 

सडकबत्ती जडान कार्यक्रम सञ्चालनका क्रममा प्रक्रिया नपुगेर भुक्तानी हुन नसकेको नगर प्रमुख मञ्जु मलासीले बताइन् । 

बजारमा जडान गरेका ३० सौर्यबत्तीमध्ये सातवटा हटाइएको थियो । जडान गरिएका सौर्यबत्ती हटाएपछि सात दिनसम्म पिपल्ला बजार अन्धकार भएको थियो । बजारमा पुन: सौर्यबत्ती जडान हुन थालेपछि यहाँका बासिन्दा खुशी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्