काठमाडौं- मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसँग सहकार्य गर्ने सम्झौता गरेको छ । सो सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरे ।
मुक्तिनाथ विकास बैंकले विगत १२ वर्षदेखि ग्रामीण भेगहरूमा समेत सबै वर्गका नागरिकलाई समावेशी वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेकोमा कृषि पेशामा निर्भर किसानहरूलाई वित्तीय सेवाका अतिरिक्त कृषि सम्बन्धी व्यवस्थापन गर्न आवश्यक देखिएकोले कम्पनीसँगग सहकार्य गरिएको जनाइएको छ ।
मुक्तिनाथ कृषि कम्पनी कृषिलाई मुख्य पेशाको रूपमा अंगालेका कृषकलाई प्रत्यक्ष तथा कृषि सहकारीहरू मार्फत पनि गैर वित्तीय सेवाहरू जस्तैः बीउबिजन, मल, उपकरण, औजार, प्रविधि तथा क्षमता विकास र बजारिकरण समेतका सेवाहरू प्रदान गर्ने उद्देश्यसहित ४० करोड रुपैयाँ जारी पूँजीमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो ।
यस सम्झौताअनुसार मुक्तिनाथविकास बैंकका ग्राहक सदस्यहरूलाई कृषिमा आधारित उद्यम/व्यवसाय गर्न आवश्यक पर्ने मल, बीउ, विजन, उपकरण र प्राविधिक ज्ञानसमेत प्रदान गरी ग्राहक सदस्यहरूबाट उत्पादित कृषि उत्पादनहरूलाई बजारको ग्यारेन्टी गर्ने कार्य मुक्तिनाथ कृषि कम्पनीले गर्नेछ ।