०१ असार २०८३, सोमबार

बुख्याँचा मन : एक चेतनामूलक आन्दोलन

कात्तिक २०, २०७४
बुख्याँचा मन : एक चेतनामूलक आन्दोलन
समाज परिवर्तनको संघारमा छ । हामीले कतिपय कुरीतिलाई बुझेर पनि छोड्न सकेका छैनौं । समाजको ऐनाका रूपमा लिइने रीतिको फ्रेममा लपक्कै टाँसिएका कुरीति पनि प्रस्ट देख्न सकिन्छ । ‘बुख्याँचा मन’ त्यही कुरीतिलाई कथामा उन्न खोज्ने एउटा तीखो सियो हो ।

‘पानी नचल्ने समाजमा तैंले मया चलाउन खोजिस् ।’ नाटक ‘बुख्याँचा मन’को यो एक संवादमा पूरै कथा लुकेको छ । कानूनतः मान्यता पाएपनि अन्तर्जातीय विवाहलाई समाजले स्वीकार्न सकेको छैन । यसको मूल जड हामीले विकास गरेको समाजमा नै छ ।

आधुनिक समाजमा देखिएका विविध घटनामध्येको अन्तरजातीय प्रेम र विवाहलाई टपक्कै टिपेर ल्याएका छन् लेखक तथा निर्देशक राज शाहले । मौलिक भाषिकाको प्रयोग गरेर कथालाई आकर्षक ढंगले मञ्चमा उतार्नु शाहको खुबी हो । यो नै यस नाट्यसमूहको सफल पक्ष पनि हो ।

‘बुख्याँचा मन’ कुनै गाउँको एउटा कथा हो । तपार्इं ग्रामीण परिवेशमा हुर्कनुभएको छ भने तपाईंलाई यो आफ्नै गाउँभित्रको नाटक लाग्न सक्छ किनकि हरेक गाउँमा अझै पनि माथिल्लो जात र तल्लो जात भन्ने हरेक समाजमा भेटिन्छ ।

शुरूमा नाटक हेर्दा एकछिन दर्शक अलमलमा पर्न सक्छन् । अन्त्यसम्ममा शीर्षकको अर्थ बुझ्न कठिन पर्छ । मुख्य पात्र धने र वीरकाजीको मित्रताबाट शुरू भएको कथाक्रम प्रेम र मित्रतासँगै अगाडि बढिरहेको हुन्छ । तर उनीहरूको मिलनसार जोडी सधैं एकनासको रहन्न । एउटा द्वन्द्वले नाटकलाई अल्झाइरहेको छ भने समाज बिग्रनुको कारण समाज नै हो भन्ने तीतो यथार्थलाई लेखकले नाटकमा स्पष्ट रूपमा देखाएका छन् ।

नाटक ‘बुख्याँचा मन’ सामाजिक चेतना मात्र होइन । यो नाटक समाजको आन्दोलन पनि हो । निदाइरहेको समाजलाई उठाउन कर गर्छ नाटकले । दर्शकलाई यसले एकपटक सोचमग्न बनाउँछ । नाटकको मूल पक्ष यही मर्म नै हो । चेतना हो ।

पात्रहरूले नाटकको मर्मलाई बलियोसँग समाएका छन् । प्रयोग गरिएको पार्श्व ध्वनि स्पष्ट छ । तर कतिपय अवस्थामा भने ध्वनि आवश्यकताको महसूस हुन्छ । अनि पात्रहरूले संवादलाई मात्र बेच्न खोजेको अनुभव हुन्छ । तरसंवाद चोटिला र ओजिला छन् । समाजबाट टपक्क टिपेर ल्याइएका जस्ता छन् ।

बरू नाटकको सेट त्यति आकर्षक लाग्दैन । गाउँले घरको बिम्ब आउने दृश्यको परिकल्पना गरेको भए सेट अझै लोभलाग्दो हुने थियो । यसको प्रयोग जरूरी थियो । त्यस्तै नाटक प्रयोग हुँदा पाश्र्व संगीतलाई बजाइदिएको भए ‘संवादमिश्रित संगीत’ अझ गुञ्जायमान हुन्थ्यो ।

नाटकमा कलाकारको प्रस्तुति राम्रो छ । प्रकाशको संयोजन आकर्षक देखिन्छ । अभिनय, हाउभाउ र संवादको प्रयोग पात्रअनुसारको छ । केही स–साना कमजोरीलाई नाटकले ओझेलमा पारिदिएको छ ।

नाटक हेरिसकेपछि दर्शकले समाजको दुःखद पक्षलाई देखेर ताली नबजाउनुपर्ने हो । तर नाटकको प्रस्तुतीकरणले यति धेरै छुन्छ कि नाटक सकिएपछि धेरैबेरसम्म दर्शकले ताली बजाइरहन्छन् ।

सर्वनाम जाँदै गर्दा बाटोभरि देखिएका बुख्याँचा नाटक हेरेर सकिएपछि जिउँदा बुख्याँचाका प्रतिबिम्ब हुन् कि भन्ने आभास भइरहन्छ ।

salt training

कमेन्ट गर्नुहोस्