
विराटनगर – मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीवारसम्ममा विभिन्न १७ थान हातहतियार बुझाइएको छ ।
गृह मन्त्रालयको निर्देशनबमोजिम हातहतियार बुझाउने बिहीवार अन्तिम दिनसम्ममा उक्त हतियार बुझाइएको हो ।
गृह मन्त्रालयले विक्रम संवत् २०७५ चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर विभिन्न हातहतियार बुझाउन निर्देशन गरे बमोजिम हतियार बुझाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताए ।
बुझाइएका हातहतियारमा भरुवा बन्दुक र दुईनाले बन्दुक रहेको सहायक प्रजिअ ओलीले जानकारी दिए । मोरङका जिल्ला प्रहरी कार्यालय मोरङ, उर्लाबारी, बेलबारी लगायतका सुरक्षा निकायका कार्यालयमा हातहतियार बुझाइएको छ ।
मोरङ जिल्लामा ७ सय २३ जनाको नाममा हतियार दर्ता रहेको र म्यादभित्र २१७ वटा मात्र नवीकरण भएको जिल्ला प्रशासन कार्यालय मोरङका नायब सुब्बा तुलसीप्रसाद पौडेलले बताए ।
नेपाल सरकारको निर्णयबमोजिम एक पटकलाई नवीकरण नगरेका र अवैधरुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन दिइएको सहायक प्रजिअ ओलीले बताए । समयभित्र नबुझाइएका हातहतियार भेटिएमा कानूनअनुसार कारवाही गरिने पनि उनले जानकारी दिए ।