१० असार २०८३, बुधबार

सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ

सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ

दाङ - गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लिएकी थिइन् ।

उनले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्तमा ६० वर्षीय गुप्तासँग रु ४० हजार ऋण लगेका लिएकी थिइन् । उनले यही वैशाख १ गते सावाँसहित तोकिएको सबै ब्याज पनि बुझाए । सुन फिर्ता माग्दा गुप्ताले ‘१५ प्रतिशतले हुँदैन ४८ प्रतिशत ब्याज दिए मात्र म सुन दिन्छु' भन्दै सुन दिन मानेनन् ।

गुप्ताले कुनै पनि हालतमा सुन नदिने बताएपछि रेग्मीले जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दाको निवेदन दिइन् । उनको जाहेरी दरखास्तका आधारमा जिल्ला प्रहरी कार्यालयले गुप्तालाई पक्राउ गर्‍यो ।

पक्राउ गरेसँगै गुप्ताको घरकोठा खानतलासी गर्ने क्रममा अन्य विभिन्न मानिसका २०६ पोका सुनका गरगहना फलामको घर्रामा राखेको भेटियो ।

गुप्ताले लामो समयदेखि त्यहाँका मानिसका गरगहना राख्ने र चर्को व्याजदरमा ऋण लगानी गर्ने गरेको पाएपछि गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोदविक्रम शाहले जानकारी दिए ।

“मान्छेको विवरण र सुन राखेको भेटाएका छौँ”, शाहले भने, “अवैध रुपमा सुनको कारोवार गरेको हुँदा र बरामद गरिएका अन्य सुनलगायतका सबुद प्रमाणको आधारमा गुप्ताविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ विपरीतको कसूरमा मुद्दा चलाइएको छ ।”

उनले गुप्तालाई जिल्ला अदालतले थप पाँच दिन म्याद दिएको हुँदा थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

बरामद भएका सुनका पोका अदालतको आदेशपछि मात्रै खोलिने हुँदा के कति छन् भन्ने बारेमा जानकारी नभएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्