
बुटवल- धर्म निरपेक्षता विरुद्धको आन्दोलनमा रहेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भैरहवामा धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएका छन । राप्रपा रुपन्देहीको पूर्व निर्धारित कार्यक्रम शुक्रवार मिलनचोकमा धर्म निरपेक्षता खारेज गर्न माग गर्दै ब्यानर जलाएर प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा प्रहरीले ब्यानर जलाउन हस्तक्षेप गरेपछि कार्यकर्ता र प्रहरीबीच केही समय हस्तक्षेप र झडप भएको थियो । प्रहरीले कार्यकर्ताको ब्यानर नियन्त्रणमा लिएपछि नाराबाजी गर्दै कागजमा धर्म निरपेक्षता लेखेर जलाएका थिए ।
देशव्यापी रूपमा धर्म निरपेक्षताको ब्यानर जलाउने कार्यक्रम अन्तर्गत भैरहवामा प्रहरी हस्तक्षेपले कार्यक्रम बिथोलिएपछि नाराबाजी गर्दै ठाउँठाउँमा कागजमा धर्म निरपेक्षता लेख्दै जलाउँदै पार्टी कार्यालयतर्फ लागेका थिए ।
पार्टीले धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको हुनुपर्ने माग राख्दै धर्म सापेक्ष सनातन हिन्दूराष्ट्र कायम गर्न दबाब दिन कार्यक्रम आयोजना गरिएको रुपन्देही जिल्ला अध्यक्ष सागर राणाले बताए । संविधानमा भएको असहमतिय बुदाँ लिएर आन्दोलनमा उत्रिएको बताउँदै उनले पश्चिमी मुलुक र बाह्य शक्तिको दबाब, प्रभाव तथा आर्थिक प्रलोभनको आधारमा ल्याइएको धर्म निरपेक्षता मान्य नहुने बताए ।
आफ्नो माग राख्न पाउनु लोकतान्त्रिक अधिकार भएको बताउँदै आफूमाथि गरिएको प्रहरी दमन र हस्तक्षेप अलोकतान्त्रिक भएकोमा राप्रपाले घोर भ्रत्सना गरेको उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने लगायत २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ । पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत हिन्दू राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र धर्ना कार्यक्रम सम्पन्न गरिसकेको छ ।
पहिलो चरणको तेस्रो कार्यक्रम अन्तर्गत आज (शुक्रवार) धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम राखिएको हो । कार्यक्रममा जिल्ला अध्यक्ष सागर राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, केन्द्रीय सदस्य ताहिर अली, गंगाराम जयसवाल, प्रदेश अध्यक्ष शंकर खत्री, प्रदिप उदय लगायतका नेता उपस्थित थिए । प्रहरीको हस्तक्षेपबाट राप्रपा जिल्ला अध्यक्ष राणाको बाँया खुट्टाको औंलामा समेत चोट लागेको छ ।