२९ जेठ २०८३, शुक्रबार

राष्ट्रपतिको वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमण

बैशाख ६, २०७६
राष्ट्रपतिको वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमण

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणमा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमण गर्नुहुने भएको छ । 

    भ्रमणका क्रममा उहाँ बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुनुहुनेछ । साथै राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    राष्ट्रपति भण्डारी आफ्ना चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनुहुनेछ । उहाँ अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुनुहुनेछ भने त्यहाँ रहेको नेपाली मण्डपको अवलोकन गर्ने कार्यक्रम छ । 

    नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । उहाँले वरिष्ठ चिनियाँ अधिकारीहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले आज जारी गरेका प्रेस विज्ञप्तिमा उल्लेख छ । राजधानी बेइजिङमा रहँदा उहाँले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्तरुपमा सम्बोधन गर्नुहुनेछ । राष्ट्रपति भण्डारी बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । 

    बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपतिले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्नुहुनेछ भने स्वदेश फर्कदा चीनको स्वासाशित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्नुहुनेछ । उहाँले ती दुवै प्रान्तका राजनीतिक नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ । 

    राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहनुहुनेछ । 

    राष्ट्रपति भण्डारी यही वैशाख १९ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्