
काठमाडौं – याप डाउनलोड गरेर साना रमाइला भिडियो बनाउने टिकटकले भारतमा यापबाट ६० लाख आपत्तिजनक भिडियो हटाएको छ ।
टिकटक कम्पनीका अनुसार, अघिल्लो वर्षको जुलाई महिनादेखि अहिलेसम्म उसले कम्युनिटी रुल्सको उल्लंघन गर्ने भिडियोहरू हटाएको हो । विवाद उठेका कारण टिकटकलाई गूगल प्ले स्टोर र एप्पलको आईस्टोरबाट हटाइएको छ ।
भारतमा मद्रास उच्च अदालतले केन्द्र सरकारलाई टिकटक याप डाउनलोड रोक्नका लागि निर्देशन दिएपछि यसमा सरकारले प्रतिबन्ध लगाएको थियो । उच्च अदालतको आदेशलाई चुनौती दिँदै टिकटकले सर्वोच्च अदालतमा मुद्दा हालेको भए पनि सर्वोच्चले उच्च अदालतको आदेश सदर गरिदियो ।
सार्वजनिक सरोकारको मुद्दामा सुनुवाइ गर्दै मद्रास उच्च अदालतले टिकटकमा अश्लील सामग्रीलाई प्रोत्साहन गरिएको र हिंस्रक भिडियो पोस्ट गरिएकाले यसमा प्रतिबन्ध लगाइनुपर्ने आदेश दिएको हो ।
टिकटकले एक बयान जारी गरेर जनायो, ‘६० लाख आपत्तिजनक भिडियो हामीले हटाइसकेको छौं । टिकटकले आफ्ना प्रयोगकर्तालाई सुरक्षित र यो सहज अनुभव गराउन गरेका प्रयासको एक अंग हो ।’
टिकटक यापको उपयोग १३ वर्षभन्दा माथिकाले मात्र गर्न पाउँछन् । कम उमेर भएका प्रयोगकर्ताले यो याप प्रयोग गर्न नपाऊन् भनी अतिरिक्त सुरक्षाको यो मानक हो भन्ने टिकटकको भनाइ छ ।
बजार विश्लेषण गर्ने कम्पनी सेन्सर टावरले बताएअनुसार, सन् २०१९ को पहिलो त्रैमासिकमा याप स्टोर र गूगल प्लेस्टोरबाट तेस्रो सर्वाधिक डाउनलोड हुने याप टिकटक हो । टिकटकले यही त्रैमासिकभित्र नै १८.८ करोड नयाँ प्रयोगकर्ता जोड्यो ।
एजेन्सी