२५ जेठ २०८३, सोमबार

'वन मन्त्रालयका कारण विकासका काममा ढिलाइ भयो भन्ने गुनासो आउन दिँदैनौं'

'वन मन्त्रालयका कारण विकासका काममा ढिलाइ भयो भन्ने गुनासो आउन दिँदैनौं'
फाइल फोटो

रसुवा– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) र वातावरणीय प्रभाव अध्ययन मूल्यांकन (ईआईए) का लागि अबदेखि ५० दिनभन्दा बढी नलाग्ने घोषणा गरेका छन् । वन तथा वातावरण मन्त्रालयलाई विकास विरोधीका रूपमा बुझिने गरिएकामा आफ्नो कार्यकालमा त्यसमा परिवर्तन ल्याउने प्रतिबद्धता उनको छ । 

‘अब आईईई र ईआईएका कारण विकास आयोजनामा ढिलाइ हुने छैन,' रसुवाको धुन्चेमा गोसाइँकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा शनिवार संयुक्त रूपमा आयोजित २४ औं वन्यजन्तु सप्ताह समापन तथा पालिक भ्रमण वर्ष कार्यक्रममा मन्त्री बस्नेतले भने, 'ईआईए र आईईको काम ५० दिनमा सक्ने गरी तयारी गरिरहेका छौं, अब त्यो काममा ५१ दिन लाग्न दिने छैन ।’

उनले वन मन्त्रालयका कारण विकासका काममा ढिलाइ वा अवरोध भयो भन्ने गुनासो आउन नदिने प्रतिबद्धता जनाए । सरकारले समृद्धिको अगुवाइ गरिरहेको चर्चा गर्दै मन्त्री बस्नेतले समृद्धिको यात्रामा आमजनता सरिक नभएसम्म नतिजा नआउने प्रष्ट्याए । विकासका काममा सरकार र प्रतिपक्षको भावना राख्न नहुनेमा जोड दिँदै उनले सरकारबाहिर रहेका दल र शक्तिलाई पनि सहकार्यका लागि अपिल गरे । ‘समृद्धि हामी सबैको साझा एजेण्डा हो,' उनले भने, ‘यो वा त्यो बहानामा फरक बाटो हिँड्न जरुरी छैन ।’ 

नेपालले लामो समयदेखि केही निश्चित व्यक्ति थप धनी हुने र गरीब झन् गरीब हुने दुःखद परिस्थितिको सामना गर्दै आएको र वर्तमान सरकारले त्यसलाई रोक्ने भनाइ उनको थियो । सरकारले पछिल्लो एक वर्षमा के काम गर्‍यो भन्ने प्रश्न उठिरहेकोबारे आफूहरू जानकार रहेको भन्दै उनले बितेको एक वर्षमा नयाँ संविधानअनुसारको ऐन/कानून बनाउनुका साथै समृद्धिको बलियो आधार खडा भएको बताए ।

मन्त्री बस्नेतले रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पाइने रेड पाण्डा संरक्षण गर्ने सके स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने भएकाले त्यसमा लाग्न स्थानीय सरोकारवालासँग आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्