३१ जेठ २०८३, आइतबार

नेपालीबाहेकका विषय अङ्ग्रेजीमा  अध्ययनअध्यापन हुने

बैशाख ८, २०७६
नेपालीबाहेकका विषय अङ्ग्रेजीमा  अध्ययनअध्यापन हुने

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामुदायिक विद्यालयमा नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा अध्ययनअध्यापन गराउन गृहकार्य गर्नेबारे सोचिरहेको बताउनुभएको छ ।  

    बनेपा नगरपालिका–१ सिमलडाँडास्थित महाङ्काल आधारभूत विद्यालयको नवनिर्मित नौकोठे चार  भवन उद्घाटन एवं हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपालीबाहेकका सबै विषय अङ्ग्रेजीमा शिक्षण गराउने प्रक्रियाअन्तर्गत आउँदो वर्ष नर्सरीदेखि नै अङ्ग्रेजीमा कक्षा सञ्चालन गर्नेबारे अहिलेदेखि नै गृहकार्य गर्न हामी सोचिरहेका छौँ ।” 

    उहाँले शिक्षकलाई अङ्ग्रेजी विषयमा शिक्षण गर्नका लागि तयार रहन आग्रह गर्नुभयो । “तपाईंहरु अङ्ग्रेजीमा शिक्षण गर्न तयार हुनुहोस्,” उहाँले भन्नुभयो, “सरकार शिक्षामा आमूल परिवर्तन गर्ने तयारीमा छ, अङ्ग्रेजीबाट पढाउन सक्दिन भनेर अब सुख पाइन्न ।” आफ्ना बालबालिका निजी विद्यालयमा पढाएर शिक्षा महँगो भन्नु हास्यास्पद भएको उहाँको धारणा थियो । 

    मन्त्री बाँस्कोटाले शिक्षामा सुधारको पहिलो खुड्किलो भौतिक पूर्वाधार रहेको बताउँदै भन्नुभयो, “हामी पहिलो चरणमा सुविधासम्पन्न भवन बनाउने छौँ, त्यसपछि शिक्षामा गुणस्तर ल्याउनेछौँ ।” सामुदायिक विद्यालयका शिक्षकले सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीति बनाउन छुट्टै कानून बनाउन लागिएको उहाँले बताउनुभयो । 

    मन्त्री बाँस्कोटाले आजै बनेपा नपा–१० जनागालस्थित जनज्योति माविकोे नवनिर्मित आठकोठे दुई भवन उद्घाटन एवं हस्तान्तरण गर्दै ‘सरकारी लगानी, बालुवामा पानी’ हुन नदिइने जिकिर गर्नुभयो । “नेपालमा दुईथरी शिक्षा सम्भव छैन, अब सबै नेपाली बालबालिकाले एउटै शिक्षा ग्रहण गर्नेछन्,” उहाँले भन्नुभयो । 

    मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित मुलुकको सूचीबाट हटाउने गरी विकासका काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार सत्य र न्यायका निम्ति कहिल्यै झुक्दैन, खराब कामको विरुद्ध लाग्दा बरु हजार बार आलोचना खेप्न तयार छ ।” उहाँले आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बढाइने पनि बताउनुभयो ।  

    सो अवसरमा प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईंले जस्तोसुकै चुनौती आए पनि सरकार शिक्षा, कृषि, स्वास्थ्य, सडक, खानेपानी र बिजुलीको विकासमा दत्तचित्त रहने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले सामुदायिक विद्यालयप्रति सकारात्मक रहन आग्रह गर्नुभयो । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले शिक्षकले कर्तव्य भुल्न नहुने बताउँदै लापर्वाही गरे नगरपालिकाले कार्वाही गर्ने चेतावनी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्