
काठमाडौं – टिकटकमाथि लगाइएको प्रतिबन्धलाई भारतको मद्रास उच्च अदालतको मदुरै बेन्चले बुधवारै फुकुवा गरेको भए पनि गूगल प्लेस्टोर र एप्पलको याप स्टोरमा त्यो याप डाउनलोड गर्न सकिएको छैन ।
सूचना प्रविधि मन्त्रालयका स्रोतले अदालतको आदेशको प्रति पाएपछि मात्र प्रविधि कम्पनीहरूलाई आधिकारिक पत्राचार गरिने जनाएका छन् ।
सूचना प्रविधि मन्त्रालयले यसअघि टिकटकमाथि लगाउने मद्रास उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले रोक लगाउन नमानेपछि प्रतिबन्ध लगाउन गूगल र एप्पललाई आदेश दिएको थियो ।
अधिवक्ता मुथुकुमारले दायर गरेको मुद्दामा फैसला दिँदै मदुरै बेन्चले बुधवार टिकटकमा प्रतिबन्ध लगाउने आफ्नो अन्तरिम आदेशलाई खारेज गरेको थियो । तर यापमा अश्लील भिडियोहरू अप्लोड गर्न नपाइने शर्त चाहिँ राखिएको थियो । उक्त शर्तको उल्लंघन गरिएमा अदालतको अवहेलनामा मुद्दा चलाइने बताइएको छ ।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा मासिक १२ करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् ।
आधिकारिक आदेश पाएपछि मात्र आफूहरूले यापलाई फेरि राख्ने गूगल र एप्पलले जनाएका छन् ।
टिकटकले अदालतको ताजा आदेशप्रति खुशी व्यक्त गरेको छ ।
एजेन्सी