
भारत- बिहारको भोजपुर जिल्लामा ३४ वर्षका पुरुष ले १३ वर्षीया बालिकासँग विवाह गरे । तर विवाहको २० दिनअगावै बालिकाले महिला प्रहरीलाई एक चिठी लेख्दै भनेकी थिइन्, 'मलाई बचाउनुस्, म विवाह गर्न चाहदिनँ । मेरो दुलाहा ३४ वर्षको छ ।'
तर उनको विवाह ३४ वर्षीय पुरुषसँग नै भयो । उनको चित्कार कसैले सुनेनन् ।
यस मामिलामा विवाह गराइदिने मन्दिरका पुजारीसँग प्रहरीले विवाहको प्रमाणपत्र मागेको छ ।
महिला प्रहरी माधुरी कुमारीले बालिकाको तर्फबाट कुनै पनि चिठी नआएको बताइन् । बालिकाले फोन गरेर आफ्नो विवाह हुन लागेको र एक्शन लिन उनीसँग आग्रह गरेको कुमारी स्वीकार्छिन् ।
बालिकाले चिठी लेखेपनि सम्बन्धित निकायमा नपुगेको हुन सक्ने बताइएको छ । तर उनले फोनबाट विवाह रोक्नका लागि प्रहरीको गुहार माग्दा उनीहरू मुकदर्शक बनेको आरोप लगाइएको छ । पुजारीले १३ वर्षीया बालिकाको उमेर १८ बनाएर विवाह गराइदिएको प्रहरीले बताएको छ ।
बालिकाले आफ्नो कुरा प्रहरीले नसुनेपछि चिठी एसडीओमा पनि पठाएकी थिइन् । त्यसपछि एसडीओले धनगाई प्रहरी थानालाई विवाह रोक्नका लागि निर्देशन दिएपनि सुनुवाइ भएन ।