
काठमाडौं – जानीनजानी दिशा पाटनी फेशन बहसको केन्द्र बन्न पुगेकी छन् । सप्कोविनाको सारी पनि कहीँ सारी हुन्छ भन्ने बहस उठेको छ ।
सलमान खानको फिल्म भारतको एक गीत स्लो मोसनमा दिशा पाटनीले पहेंलो सारी लगाएर नाचेकी हुन् ।
ड्रेस डिजाइनर गौरांग शाहले यस गीतमा सारीको मर्म नै मारिएको आरोप लगाए । समाचार संस्था आईएएनएससँग कुरा गर्दै उनले सारीको सप्कोलाई डोरी बाँधेजस्तो गरी नाइटोमा बाँध्नु नयाँ आविष्कार भए पनि सारीको आधारभूत मर्मसँग खेल्नु नहुने उनको तर्क छ ।
उनले भने, ‘सारी हाम्रो सांस्कृतिक विरासतको प्रतीक हो । यसको भव्य चरित्रलाई कायम राख्न उपयुक्त तरिकाले सप्को लगाउनुपर्छ ।’
अर्का डिजाइनर वरिजा बजाजले दिशाको सारी लगाइ भद्दा भएको टिप्पणी गरिन् । उनका अनुसार, संसारभरिका डिजाइनरहरूले सारीसँग जीन्स लगाउनेसम्मका परीक्षण गरेका छन् तर दिशाले सारी लगाएको तरिका चाहिँ पूरै कलाविहीन छ ।’
यसरी सारी लगाउँदा यसको मर्म नै मरेको र यसको नारीवादी अपीलको अपमान भएको उनको टिप्पणी छ ।