१६ असार २०८३, मंगलबार
मुख्य समाचार

अब ४५ हजारमै जापान, नेपाल–चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर

बैशाख १७, २०७६
अब ४५ हजारमै जापान, नेपाल–चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय भेटवार्ता भएको छ  ।  उक्त अवसरमा राष्ट्रपति भण्डारीले  चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको बताइएको छ । आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले  भ्रमणका क्रममा  आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि  धन्यवाद व्यक्त गरिन् । 

    चिनियाँ राष्ट्रपति सीले अन्तरराष्ट्रिय सहयोगका लागि ‘दोस्रो क्षेत्र र मार्ग मञ्च’मा समकक्षी भण्डारीले राम्रो विचार व्यक्त गरेको उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन आफू तयार रहेको बताए । 

    सोअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सी चिनफिङले  ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेका थिए ।   

नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर 
    
राष्ट्रपति विद्यादेवी भण्डारी तथा उनका चिनियाँ समकक्षी सी चिनफिङबीच ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि उनीहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । 

    पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो । त्यसमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओपेङले हस्ताक्षर गरे । 

    त्यस्तै चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाका मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्यमन्त्री झोङ शानले हस्ताक्षर गरे । 
    आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरे र चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेशन एजेन्सीका वाङ सिआवतावले हस्ताक्षर गरे । 
    
    भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गरे ।  नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोगका सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गरे । 

    सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेजका लियु युझुले हस्ताक्षर गरे । 

नेकपा सचिवालयको सुझाव

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले सरकारलाई जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् ।

    पार्टीको चुनावी घोषणापत्रअनुसार समाजवादोन्मुख संविधानको मर्म र भावनालाई समेत ध्यान दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउन सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले सरकारलाई सुझाव दिएको हो ।

    सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संविधानमै भएको व्यवस्थानुसार हरेक जेठ १५ गते बजेट प्रस्तुत गरिन्छ ।

    सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते

    सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।
 
    राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको प्रतिनिधिसभाकोसभामुख कृष्णबहादुर महराले जानकारी दिए । संसदको बैठक अधिवेशन सोमबारदेखि सुरु भएको छ । 

    श्रमिक दिवस भव्यताका साथ मनाइने

    विभिन्न ट्रेड युनियनले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस संयुक्तरुपमा एकै थलोमा भव्यताका साथ मनाउने निर्णय गरेका छन् । नेपालमा क्रियाशील ट्रेड युनियनको छाता सङ्गठन ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को अगुवाइमा छरिएर रहेको श्रमिक सङ्घसङ्गठनले एकै स्थानमा दिवस मनाउन लागेका हुन् । 

    श्रमिक दिवसका दिन उपत्यकाको विभिन्न स्थानबाट श्रमिकको जुलुस निकाल्ने तयारी गरिएको छ । विभिन्न स्थानबाट निस्केको जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । यही वैशाख १८ गते विश्वभर श्रमिक दिवस मनाइँदैछ । 

    सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलगायत राष्ट्रिय पार्टीका अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

४५ हजारमै जापान उड्न पाइने !
    
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ ।
    
    आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ । भाडादर स्वीकृत भएपछि निगमले अन्य कागजी प्रक्रिया मिलाए छिट्टै टिकट बिक्रीको काम पनि शुरु गर्नेछ ।

लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो

    नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले लामाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्टीकरण सोधेकामा चित्त बुझ्दो जवाफ नआएपछि प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो ।

    निगमको दुबई उडान स्थगित भएपछि लामाले केही मिडिया तथा सामाजिक सञ्जालमा आफूलाई ‘निद्रा नलाग्ने’, ‘मानसिक तनाव’ रहेको जस्ता अभिव्यक्ति दिएका थिए ।  लामाको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उउनको लाइसेन्स तत्कालका लागि ‘सस्पेन्स’ गर्ने निर्णय गरेको हो ।

    प्राधिकरणको सेफ्टी हेर्ने विभागले लामाले विभिन्न मिडियामा दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै ‘लामालाई जहाज उडाउन किन दिने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो ।

यादवको निधन

    श्रीमानद्वारा मट्टितेल छर्की जलाउन प्रयास गरिएकी धनुषाको शहीदनगर नगरपालिका वडा नं १ कि २० वर्षीया निर्मलाकुमारी यादवको उपचारका क्रममा निधन भएको छ । 

उनको कीर्तिपुरस्थित कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरीवृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए । 

    यही वैशाख ५ गते श्रीमान् मुकेश गोइत यादवले आफ्नै घरको कोठामा थुनी निर्मलालाई मट्टीतेल छर्की जलाउने प्रयास गरेका थिए । मट्टितेल छर्की हत्या प्रयास गरिएकी यादवलाई उपचारका लागि केही दिनअघि मात्र अस्पताल भर्ना गरिएको थियो । 

सर्वोच्चमा रिट दायर

    नेपाल विद्यार्थी सङ्घले निःशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । 

    नेविसङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारिसनामामा सोमबार अधिवक्ता राजकुमार उप्रेतीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । 
        
जीप दुर्घटनामा पाँच जनाको मृत्यु

    पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल भिरपानीबाट जन्ती लिएर वडा नं ७ जयमिरेतर्फ जाँदै गरेको लु१ज १९४१ नं को जीप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा चालक बुद्धिवल सोती, निस्दी गाउँपालिका–७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लालबहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिए । 
    
वडाध्यक्ष पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्षलाई घुससहित रङ्गैहात पक्राउ गरेको छ । आयोगबाट प्रहरी निरीक्षक राजक कार्कीको नेतृत्वमा खटिएको टोलीले सुरुङ्गा वडाध्यक्ष मोहमद शिल्टु मियाँलाई पक्राउ गरेको अख्तियारका उपसचिव ज्ञानेन्द्र ढकालले जानकारी दिए । 

मोहानी जग्गाको सिफारिश गरिदिने विषयमा सेवाग्राहीबाट रु २५ हजार घुस लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको उनले जानकारी दिए । 
जग्गा भाडा सम्झौता रद्द
    
    समाज कल्याण परिषद्ले हरित कृषि सहकारी संस्था लिमिटेडसँग काठमाडौँको प्रदर्शनीमार्गमा रहेको फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता रद्द गरेको छ । 
    
    परिषद्ले सहकारीलाई पठाएको सम्झौतापत्रमा २०७४ असोज ३० गते सहकारीसँग २५ वर्षका लागि करार गर्ने भनिए तापनि करार प्रक्रियामा कुरा नमिलेपछि सम्झौता नै रद्द गरेको उल्लेख गरेको छ । परिषद्ले प्रदर्शनीमार्गमा रहेको आफ्नो साढे ८३ रोपनी जग्गाको भाडा करार सम्झौता रद्द गरिएको पत्र सहकारीलाई पठाएको हो ।
    
    परिषद् अधिनमा रहेको सो जग्गा सहकारीलाई सस्तो मूल्यमा भाडा लगाएको विषयमा विवाद थियो । वर्तमान सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गर्र्नेलाई कारवाही गर्ने कामलाई तीव्ररुपमा अघि बढाएको छ । सोही क्रममा परिषद्ले सो फनपार्क र टुकुचामा रहेको जग्गाको भाडा लगाउने सम्झौता खारेज गरेको हो । 

    काममा फर्किए पुनःनिर्माणका प्राविधिक

    भूकम्पपछिको पुनःनिर्माणमा कार्यरत प्राविधिक काममा फर्कन सहमत भएका छन् ।  

     नेपाल इञ्जिनीयर्स एसोशियसनको मध्यस्थतामा राष्ट्रिय पुननिर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच सोमबार भएको छलफलमा प्राविधिकले आफ्ना माग सम्बोधन भएकाले काममा फर्कने प्रतिबद्धता जनाएका हुन् ।

    


 

salt training

कमेन्ट गर्नुहोस्