
काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानको पछिल्लो फिल्म जिरो सुपरफ्लप भएको तीन महिनापछि चीनको बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रदर्शन भइरहेको छ ।
चिनियाँ समाचार वेबसाइट सीजीटीएनसँगको अन्तर्वार्तामा शाहरुखले जिरोको असफलता र त्यसले गर्दा आफूमा परेको मानसिक असरका बारेमा खुलेर कुरा गरे ।
अहिले उनले कुनै पनि फिल्म साइन गरेका छैनन् र अर्को फिल्म खेल्नुअघि केही समय लिनेछन् ।
उनले भने, ‘यसपालि म हतार गर्ने पक्षमा छैन । अब म फिल्म हेर्न, स्क्रिप्ट पढ्न र किताब अध्ययन गर्न समय छुट्ट्याउँछु । मेरा सन्तान पनि कलेज जीवन सक्दैछन् । सुहाना कलेजमै छे । आर्यनले एक वर्षमा कलेज सक्ला । म आफ्नो परिवारसँग समय बिताउन चाहन्छु ।’
शाहरुख खानले सन् २०१९ को जुन महिनामा नयाँ फिल्म साइन गर्ने कुरा थियो । तर यी ५३ वर्षीय अभिनेता त्यतिखेर पनि फिल्म साइन गर्ने पक्षमा छैनन् ।
‘हुन त मैले जुन महिनामा फिल्म साइन गर्ने सोच राखेको थिएँ तर अब गर्दिनँ । मेरो मनले हुन्छ भनेपछि मात्र फिल्म खेल्छु । मेरो मनदेखि नै अभिनय निस्कियो भने मात्र खेल्ने हो । अहिले मेरो मन अभिनयमा जमेकै छैन । धेरै मानिसले मलाई फिल्मका कथा सुनाइरहेका छन् । १५ वटा जति कथा सुनें अनि ३ वटा जति मन पराएँ । तर कुन फिल्म गर्ने भनी मैले निर्णय लिइसकेको छैन किनकि निर्णय लिनेबित्तिकै मैले खेल्न थाल्नुपर्ने हुन्छ । फिल्म खेल्न थालेपछि म त्यसमा पूरै डुब्छु,’ शाहरुखले भने ।
बेइजिङ फिल्म फेस्टिभलमा जिरो देखाउन लागिएको विषयमा प्रश्न गर्दा शाहरुखले आफू उत्साहित नभएको बताए । ‘उनीहरूले फिल्म नदेखाउँदा पनि म आउँछु भनेको थिएँ किनकि मलाई चीन भ्रमण गर्ने इच्छा पहिलेदेखि नै छ । तर अहिले भिन्नै अनुभव गरिरहेको छु । हामीले प्रेमपूर्वक फिल्म बनायौं तर धेरैजनाले मन पराएनन् । दर्शकले मन नपराएपछि केही पनि गर्न सकिँदैन,’ उनले भने ।
शाहरुखले अन्तरिक्षयात्री राकेश शर्माको जीवनीमा आधारित फिल्म सारे जहाँ से अच्छा खेल्ने कुरा थियो तर खेलेनन् ।
एजेन्सी