
काठमाडौं – जापानमा ३० वर्षपछि नयाँ राजा देखिने भएका छन् । बुधवार जापानी सम्राट् अकिहितोले तरवार दिएर राजगद्दी आफ्ना छोरा नारुहितोलाई सुम्पिन लागेका छन् ।
यस विशेष अवसरलाई उत्सवका रूपमा मनाउन सरकारले १० दिन छुट्टीको घोषणा गरेको छ । मानिसहरू छुट्टी पाएपछि खुशी होलान् भनेको छ चित्त नबुझाएर यसको आलोचना गरिरहेका छन् ।
जापानमा २७ अप्रिलदेखि ६ मेसम्म बिदा दिइएको छ । बिदाका विषयमा कामकाजी मानिसमाथि गरिएको सर्वेक्षणमा आधीभन्दा बढीले यति लामो छुट्टी आफूहरूलाई चित्त नबुझेको बताए ।
यसअघि गृहिणी र सेवानिवृत्त मानिसहरूलाई सर्वेक्षणमा समावेश गरिएको थियो । उनीहरूमध्ये बहुसंख्यकलाई लामो बिदा मन नपरेको देखियो ।
केही पत्रिकाले त यसलाई शताब्दीकै सबभन्दा खत्तम विचार भनी टिप्पणी गरे । यो निर्णयले धनी मानिसहरूलाई मात्र खुशी बनाएको बताइएको छ । जनताले १० दिनको छुट्टी हुँदा अबको १० दिन झन् धेर काम गर्नुपर्ने बाध्यता आइलाग्ने भनी लेखेका छन् ।
लामो बिदाप्रति असन्तुष्ट हुनुमा अनेकौं कारण छन् । केहीले बिदाका बेलामा यात्रा महंगिने बताएका छन् । केहीले पर्यटकीय स्थलमा भीड बढ्ने चिन्ता व्यक्त गरेका छन् ।
बैंक र बालबालिका स्याहार केन्द्र बन्द हुने भनी केहीले चिन्ता व्यक्त गरेका छन् । केहीले चाहिँ कामदारलाई छुट्टी सकिएपछि ओभरटाइम काम गराइने भनी चिन्ता व्यक्त गरेका छन् ।
एजेन्सी