
धनगढी –नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढीले कोटा घटाएर गहुँ खरिद कार्य थालेको छ । विगतको तुलनामा आधाभन्दा बढी कोटा घटाएर गहुँ खरिद कार्य थालेको हो ।
गत वर्ष संस्थानले ९ हजार क्विन्टल गहुँ खरिद कोटा निर्धारण गरी खरिद गरेको थियो । तर चालु वर्षमा भने ४ हजार १ सय क्वीन्टल मात्रै खरिद गर्न कोटा निर्धारण गरेको अञ्चल प्रमुख प्रेमनारायण भण्डारीले जानकारी दिए ।
त्यसो त संस्थानले बर्सेनि खरिद कोटा घटाउँदै लगेको छ । ०७४ मा १० हजार कोटा निर्धारण गरेको थियो भने गत वर्ष ९ हजार क्विन्टल खरिद कोटा निर्धारण गरिएको थियो ।
संस्थानको केन्द्रीय कार्यालयद्वारा निर्धारित कोटा बमोजिम खरिद गरिरहेको बताउँदै अञ्चल प्रमुख भण्डारीले लक्ष्य भन्दा बढी खरिद गर्न सकिने अवस्था भएपनि कोटा सीमित भएको उल्लेख गरे ।

मूल्य निर्धारणमा ढिलाइ गरेको संस्थानले आइतवारदेखि गहुँ खरिद गरिरहेको छ ।
संस्थानले विगतका वर्षमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाबाट पनि गहुँ खरिद गर्दै आएको थियो । तर कञ्चनपुर जिल्लामा भने खरिद कार्य नै बन्द गरेको छ ।
संस्थानले कैलालीको ३ स्थानबाट गहुँ खरिद कार्य थालेको छ । धनगढीको मोहनपुर गेटा, टीकापुर र सत्तीबाट खरिद गरिरहेको संस्थानले ठाउँ अनुसार दररेट पनि फरक–फरक निर्धारण गरेर खरिद गरिरहेको हो ।
संस्थानका अञ्चल प्रमुख भण्डारीका अनुसार मोहनपुर धनगढीको लागि प्रति क्विन्टल २ हजार ७९० निर्धारण गरेको छ भने टीकापुर र सत्तीको लागि २ हजार ६८५ रुपैयाँ प्रतिक्वीन्टल निर्धारण गरेको छ ।
२ दिनको अवधिमा २ सय ४६ क्वीन्टल गहुँ खरिद गरेको संस्थानले जनाएको छ ।