
विराटनगर- प्रदेश १ संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले विकासका लागि भन्दै ल्याएको बृहत विराट क्षेत्रलाइ नै राजधानीका रुपमा अघि सारिए काँग्रेसले त्यसको प्रतिरोध गर्ने जनाएको छ ।
नाम र राजधानीको सन्दर्भमा टुङ्गो लगाउन कांग्रेस संसदीय दलको मंगलवार बसेको बैठकपछि कांग्रेसको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो । प्रदेश १ को नाम र राजधानी तोक्न प्रदेशसभाबाट १९ गतेसम्म प्रस्ताव गर्ने समय सीमा तोकेपछि प्रदेश सभामा सहभागी दलहरु गृहकार्यमा जुटेका हुन् ।
प्रदेश १ को प्रमुख प्रतिपक्षी कांग्रेसले भने पर्ख र हेरको रणनीति अख्तियार गरेको दलका नेता राजिव कोइरालाले बताए । सरकार वा सत्तारुढ दलले ल्याउने प्रस्ताव अनुसार नै कांग्रेसको रणनीति तयार हुने र त्यही अनुसार पार्टीको धारणा सार्वजनिक हुने स्पष्ट पारे ।
‘नाम र राजधानी दुवै विषयमा कांग्रेस एकढिक्का भएर उभिने निर्णय गरेको छ,' उनले भने, ‘२१ जना सांसद नै एक ठाउँमा छौँ ।’ संसदीय दलको बैठकमा सबै २१ जना सांसदले आफ्नो धारणा राखेको प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।
सरकारले विपक्षी दलसँग सहमति गरेरै अगाडि बढ्ने बताएकोले अहिले नै कुनै ठाउँ वा नामको बारेमा स्पष्ट निर्णय भने नभएको कार्कीले बताए । सरकारले वृहत् विराट क्षेत्र प्रस्ताव मार्फत् राजधानी तोक्न लागेको हो भने त्यो स्वीकार्य नहुने कार्कीको भनाई छ । वृहत विराट क्षेत्र विकास सम्बन्धि विधेयक प्रदेश प्रमुखबाट मंगलबार नै प्रमाणीकरण भइसकेको छ ।
प्रदेशसभाको संशोधित नियमावलीको अनुसूची आठमा प्रदेशको स्थायी राजधानी कुनै स्थान/क्षेत्रमा तोक्ने व्यवस्था छ । यसलाई कांग्रेसले पनि शंकाको रुपमा हेरेको छ । वृहत विराट क्षेत्रमै पर्ने इटहरीमा प्रदेशसभा, विराटनगरमा मन्त्रालय, धरानमा प्रदेश प्रमुखको कार्यालय राख्न सकिने विषयमा उठेका चर्चाबीच विपक्षी दल सशंकित भएको हो ।