
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्पलाई सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकार पक्ष केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालको संवैधानिक प्रावधान र भावनानुसार श्रमिकका हितमा काम हुनाका साथै योगदानमा आधारित सामाजिक सुरक्षा, नयाँ श्रम ऐन र रोजगारीको हकसम्बन्धी ऐनको कार्यान्वयन भई नेपाली मजदुरको अवस्थामा महत्वपूर्ण सुधार आउने उल्लेख गर्नुभएको छ ।
सङ्घीयता कार्यान्वयनमा श्रमिकले खेल्दै आएको भूमिकाका लागि धन्यवाद दिँदै राष्ट्रपतिले मजदुर दिवससँगै श्रमिकको हितअनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित हुन सकून् भनी कामना गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “यस दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास लिएको छु । सुदृढ अर्थतन्त्रको मेरुदण्ड र समाजवादउन्मुख अर्थ व्यवस्थाको आधारस्तम्भ श्रमिक मजदुर भएको प्रसङ्गमा सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्दछ ।”
श्रमजीवी वर्गको जीवनमा परिवर्तन नआएसम्म समृद्धि हुँदैनः उपराष्ट्रपति
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजीवी वर्गको आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन नआएसम्म समृद्धि सम्भव नभएको बताउनुभएको छ । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानका लागि सबै श्रमजीवी वर्ग समृद्ध, सुखी र खुशी हुनुपर्नेमा जोड दिनुभएको छ ।
मजदुरको हकहितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयन गरिए मजदुरका धेरै अधिकार प्राप्त हुने उल्लेख गर्दैै उहाँले नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको प्रष्ट पार्नुभयो । श्रमजीवी वर्गको उत्थानका लागि सबैले काम गर्न पाउने अवस्थाको सुनिश्चितता गरिनुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले देशको मुख्य सामाजिक आर्थिक शक्तिका रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउन र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस