२१ असार २०८३, आइतबार

कर्णालीमा मजदुर विभाजित : पार्टीपिच्छे फरक र्‍याली, मजदुर भन्छन्- भाषणले पेट भरिन्न

बैशाख १८, २०७६
कर्णालीमा मजदुर विभाजित : पार्टीपिच्छे फरक र्‍याली, मजदुर भन्छन्- भाषणले पेट भरिन्न

सुर्खेत- ‘संसारका सबै मजदुर एक हौं’ भन्ने मुल नाराका साथ कर्णालीको राजधानी वीरेन्द्रनगरमा १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस बुधवार मनाइयो ।  

देशका सबै क्षेत्रमा देखिने ‘राजनीति’ बाट मजदुर संगठन पनि अछुतो रहेनन् । नेपाली कांग्रेस निकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अलग्गै र्‍याली तथा नेकपा निकट जिफण्ट र अन्टुपलगायतको संयुक्त र्‍याली निस्कियो । नेपाली कांग्रेस निकटका मजदुरहरूको कार्यक्रम पार्टी कार्यालयमा आमसभा गरेर सम्पन्न भयो भने नेकपा तथा सत्ता पक्षीय मजदुर युनियनको कार्यक्रम खुला मञ्चमा सम्पन्न भयो ।

जिफन्टका कर्णाली प्रदेृश अध्यक्ष तेजप्रकाश जिसीले युनियन कांग्रेसलाई पनि साथमै र्‍यालीको आयोजना गरौं भन्दा नमानेको बताए । ‘हामीले सबै संगठन मिलेर एकै ठाउँमा कार्यक्रम आयोजना गरेर दिवस मनाऔं भनेर उहाँहरूलाई पनि प्रस्ताव गरेका थियौं,’ उनले भने, ‘तर सत्तापक्षसँग सँगै नगर्ने भनेर होला उहाँहरूले हाम्रो प्रस्ताव सोझै इन्कार गर्दै अलग्गै र्‍याली निकाल्नुभयो ।’

अध्यक्ष बस्नेतले मजदुर वर्गको हितमा काम गर्ने हरेक संस्थाले मिलेर जानुको विकलप नभएको बताए । ‘हामी मजदुरहरू अलग-अलग भएको खण्डमा हामीलाई अधिकार प्राप्त गर्न असहज अवस्था सिर्जना हुन्छ,’ उनी थप्छन्, 'हामी विभिन्न बहानामा अलग हुँदा मजदुरले अधिकारबाट वञ्चित हुनु परेको अवस्था कायमै छ । हामी उहाँहरूसँग सहकार्य गर्न तयार छौं, गरिपनि रहेका छौं ।’ उनले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषको प्रशंसा गरे ।

ट्रेड युनियन काँग्रेसका सुर्खेत अध्यक्ष गणेश कार्कीले केन्द्रले नै सँगै र्‍याली ननिकाल्नु भनेका कारण अलग्गै निकालिएको बताए । ‘हामीलाई केन्द्रबाटै सत्तापक्षीय संगठनसँगै र्‍याली ननिकाल्नु भन्ने परिपत्र थियो,’ उनले भने, ‘यद्यपि पहिलेसँगै निकाल्ने कुरा भएपनि यो आन्दोलनलाई एक रुपमा हामीले लिएका छौं । मजदुर जो वास्तविक मजदुरहरू हुन्, तिनीहरूलाई सामाजिक सुरक्षा कोषले छोएन ।’ तर मजदुर वर्गको हितमा भने सबै संगठनसँग मिलेर जाने कार्कीको भनाइ थियो ।

उनले सरकार जहिले पनि मजदुर वर्गको विपक्षमा हुने भएका कारण पनि सामाजिक विकास मन्त्रालयको खर्चमा आयोजना गरिएको र्‍यालीमा सहभागिता नजनाएको दाबी गरे । ‘हामीलाई सूचना प्राप्त भयो कि सामाजिक विकास मन्त्रालयले दिवसका लागि बजेट दिँदैछ भन्ने कुरा,’ अध्यक्ष कार्कीले भने, ‘सरकारको प्रतिपक्षमा मजदुर संगठन हुने भएका कारण हामी सत्ताको विपक्षमा निकालेका हौं ।’ उनले अधिकार सरकारसँगै माग्ने बताउँदै असंगठित क्षेत्र जस्तै भारी बोक्ने, उद्योगमा काम गर्ने श्रमिक पनि सामाजिक सुरक्षा अभियानमा समेटिनुपर्ने आफूहरूको माग रहेको बताए । 

भाषणमै सीमित दिवस

मजदुर संगठनहरूले मजदुर दिवसको दिन भाषण गरेरै बिताएका छन् । कोही खुल्ला मञ्चमा मजदुर अधिकारको वकालत गरिरहेका पाइए भने कोही नेपाली कांग्रेसको कार्यालयमा भाषण गरिरहेका पाइए । ‘हामीलाई भाषण सुनेर पुग्नेवाला केही छैन,’ घर बनाउन मजदुरी गरिरहेका रमेश विकले भने, ‘भाषण सुनेर पेट भरिने, जहान बच्चा पाल्न सकिने भएको भए हामी पनि सँगै जान्थ्यौं ।’ उनले जहिले पनि मजदुरको हितमा काम गर्छौं भन्ने तर समस्या परेको बेला कोही पनि साथ दिन नआउने गरेको गुनासो गरे ।

सिद्धपाइलाको बाढीपीडितलाई झुल

सुर्खेतमा रहेको सिद्धपाईला यातायात सेवा प्रालिले भने मजदुर दिवसको अवसर पारेर बाढीपीडितलाई झुल तथा विद्यार्थीलाई शिक्षण सामाग्री हस्तान्तरण गरेको छ । ‘हामीले महिला विकास केन्द्रमा रहेका बाढीपीडित १६ घरमा लागि प्रतिघर एक झुल वितरण गरेका छौं,’ कम्पनीका अध्यक्ष पदम बनले भने, ‘यसका साथै कालिका मन्दिर विनपा ५ लाई पाँच थान कुर्सी, एक पेटी तेल र धुप तथा विनपा १० पिपिरामा रहेको मदरसा मदिना प्राविका १८ जना विद्यार्थीलाई शिक्षण सामाग्री वितरण गरेका छौं ।’

प्रालिमा अहिले ६ सय रिक्सा चालक संगठित भएको बताउँदै रिक्सा चालकले नै प्रति व्यक्ति केही रकम जम्मा गरेर झण्डै २३ हजार बराबरको सामान वितरण गरेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्