१० असार २०८३, बुधबार

मडुरोलाई हटाउने गुआइडोको प्रयास असफल, भेनेजुएलाको भविष्यमा प्रश्नचिह्न

बैशाख १९, २०७६
मडुरोलाई हटाउने गुआइडोको प्रयास असफल, भेनेजुएलाको भविष्यमा प्रश्नचिह्न

भेनेजुएलाका विपक्षी नेता खुवान गुआइडो मंगलवार राजधानी काराकासको महत्त्वपूर्ण सैन्य अड्डामा राइफल बोकेका विद्रोही सैनिकहरूसँग उभिँदा उनका समर्थकहरूले राष्ट्रपति निकोलास मडुरोको सत्ता अन्त्य हुने आशा गरेका थिए । 

‘विद्रोह गर्ने समय अहिले नै हो,’ गुआइडोले बिहान हुन लागेको बेलामा नाटकीय घोषणा गरे । उनले सशस्त्र बलहरूलाई आफ्नै कमान्डर इन चीफविरुद्ध जान आह्वान गरे । 
तर सैनिकहरूले उनलाई टेरेनन् । 

फलस्वरूप मडुरो अझै सत्तामा छन् र भेनेजुएलाका उच्च सैन्य अधिकारीहरूले ह्युगो चाभेजका अलोकप्रिय उत्तराधिकारीप्रति बफादारिता कायम राखेका छन् । देशभरि विद्रोहको लहर उठाउने गुआइडोको प्रयास तत्कालका लागि विफल भएको देखिन्छ । 

‘यो असफलता नै हो किनकि यसले विपक्षीहरूलाई पहिलेको भन्दा पनि कमजोर बनाएको छ,’ पैरवी समूह वाशिङटन अफिस अन ल्याटिन अमेरिकाका भेनेजुएलाविज्ञ डेभिड स्मिल्डेले बताए । 

अमेरिकामा ओबामा प्रशासन हुँदा राष्ट्रिय सुरक्षा परिषद्का भेनेजुएला सल्लाहकार बेन्जामिन गेडानले भेनेजुएलाको जासूसी सेवा तथा सेनाका बहुसंख्यक अधिकारीले जागिर छोडेर विद्रोह गर्ने सपना गुआइडोले देखेको बताए । ‘त्यो हुन सकेन,’ उनले स्वीकारे । 

तर गुआइडोको आन्दोलन पूरै सकियो भन्ने पनि हैन । 

मडुरोविरोधी प्रदर्शन जारी छ र बुधवार पनि हजारौं मानिस सडकमा उत्रिए । मडुरोले प्रदर्शनकारीमाथि चरम दमनको नीति अपनाएनन्, शायद यो उनको कमजोरीको संकेत हो कि ? सुरक्षाकर्मीको कारवाही भोगे पनि प्रदर्शनकारीहरू झुकेका छैनन् र विपक्षीहरूले उल्लेख्य अन्तर्राष्ट्यि समर्थन प्राप्त गरेका छन् । 

‘पूरै भूगोललाई नियन्त्रणमा लिएको तथा सशस्त्र बलको प्रयोगमा एकाधिकार जमाएको निरंकुश शासनलाई हटाउन गाह्रै हुन्छ ... तर संक्रमणकाल अनपेक्षित रूपमा आउँछन् र सोचेभन्दा छिटो आउँछन्,’ गेडानले भने । उनले सुडान र अल्जेरियामा हालै भएका विद्रोहको उदाहरण दिए । 

‘म भोलि नै मडुरोको शासन अन्त्य हुन्छ भन्दिनँ । तर सत्तामा रहिरहने विषयमा मडुरो विश्वस्त रहेको संकेत पनि मैले पाएको छैन,’ गेडानले थपे । ‘सरकारले देशमा पूर्ण नियन्त्रण कायम गरेको कुनै प्रमाण छैन । मडुरो राति ढुक्कले सुत्छन् भन्ने कुरा म पत्याउँदिनँ ।’

बेलायतमा गुआइडोकी दूत भानेसा नेउम्यानले मडुरोको तत्काल पतन हुने अपेक्षा विपक्षीले नराखेको बताइन् । ‘यो अजिंगरले आहारा निले जस्तो हो । केही घन्टाभित्रै यसको अन्त्य हुन्छ भनी हामीले साचेकै छैनौं ।’

तर धेरै विश्लेषकहरूले गुआइडोमा सत्तापलट छिट्टै हुन्छ भन्ने भ्रम रहेको र उनी विफल भएको बताएका छन् । मंगलवार बिहान ४ बजे आफ्ना राजनीतिक गुरु लियोपोल्डो लोपेजसँग सडकमा देखिँदा गुआइडोले मडुरो सत्ताच्युत भइहाल्लान् भन्ने सपना देखेका थिए । 

आफ्नो सम्बोधनले सेनामा विद्रोहको लहर आउला अनि मडुरो ढल्लान् भन्ने अपेक्षा गुआइडोले गरेको स्मिल्डे बताउँछन् ।

एक ठूला अधिकारीलाई चाहिँ गुआइडोले विद्रोह गर्न विश्वस्त तुल्याए । ती हुन् भेनेजुएलाका कुख्यात जासूसी संस्थाका निर्देशक म्यानुएल रिकार्डो क्रिस्टोफर फिगेरा । उनले एउटा खुलापत्र लेख्दै ‘फटाहा र दुष्टहरूले’ भेनेजुएला लुटिरहेको जबकि जनता चाहिँ भोकभोकै मरेको भन्दै आफूले पदबाट राजीनामा दिएको बताए । 

तर अस्त्र भिरेका केही मात्र समर्थकका साथ क्यामरामा देखिएर गुआइडोले शुरूदेखि नै असफलताको बाटो खनेको देखिन्थ्यो । 

गुआइडोलाई अब पक्राउ गरिने सम्भावना छ र लोपेज स्पेनी दूतावासमा शरण लिन पुगेका छन् । ‘यो नै विपक्षीको आन्दोलनमाथिको सबभन्दा ठूलो प्रहार हो किनकि उनी प्रतीकात्मक नायक थिए अनि आन्दोलनको जीवित शहीद पनि । अहिले त उनले भेनेजुएलाभित्र बसेर संघर्ष गर्न नसकेको देखाएका छन्,’ स्मिल्डेले भने । 

अमेरिकाका पूर्व कूटनीतिक अधिकारी तथा काउन्सिल अफ दी अमेरिकाजका उपाध्यक्ष एरिक फार्न्सवर्थले वरिष्ठ सैन्य अधिकारीहरूलाई अर्को पक्षमा ल्याउन युद्धस्तरमा वार्ता भइरहेको विश्वास आफूले लिएको बताएका छन् । 

ब्राजिलमा लुइज इनासियो लुला दा सिल्भाको तत्कालीन वामपन्थी सरकारले ह्युगो चाभेजको नेतृत्वमा रहेको भेनेजुएला सैनिकसँग निकट सम्बन्ध कायम गरेको थियो । त्यसैले ब्राजिल र कोलम्बियाले सैन्य अधिकारीसँगको वार्तामा मध्यस्थता गर्ने सम्भावना देखिन्छ । 

‘विपक्षीहरूलाई सेनाका टुकडीको नेतृत्व सम्हाल्ने एकजना चाहिएको छ जसले शायद काराकास बाहिर गएर भन्न सकोस् – हुनुसम्म भयो, अब हामीहरू मडुरोको आज्ञापालन गरिबस्दैनौं ।’

भेनेजुएला सेनाको शीर्ष नेतृत्वमा चिरा परेको विश्वास ब्राजिली जासूसी संस्थाहरूले लिएको बुधवार ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले बताए । ‘शीर्ष तहका अधिकारीहरूले खेमा परिवर्तन गर्ने सम्भावना छ र यसैले सरकार ढाल्न सक्छ,’ उनले पत्रकारहरूलाई बताए ।

‘हुन त मडुरोको शासन हिजो ढलेन,’ फार्न्सवर्थले भने, ‘तर अन्तिम अध्याय लेखिसकिएको छ भन्ने मलाई लाग्दैन ।’

द गार्डियनमा प्रकाशित विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्