
काठमाडौं – जैश–ए–मोहम्मद प्रमुख मसूद अजहरमाथि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध भारतीय जनता पार्टीका लागि सही समयमा आएको निर्णय हो ।
लोकसभा चुनावको महत्त्वपूर्ण तीन चरण र भाजपाका लागि निर्णायक मतदान अझै बाँकी छन् । यस्तोमा यो कूटनीतिक जीत राष्ट्रवाद र प्रधानमन्त्री नरेन्द्र मोदीको बलियो नेतृत्वलाई प्रमुख मुद्दा बनाएर चुनाव लडिरहेको भाजपाका लागि निकै महत्त्वपूर्ण छ ।
भाजपाले यसै गर्ला भनेर चीनले मसूदमाथिको प्रतिबन्ध घोषणा टार्न खोजेको थियो । अनि मसूदका विषयमा चीनको दृष्टिकोणको व्यग्र प्रतीक्षा गरिरहेको भाजपाले संयुक्त राष्ट्रसंघको फैसलापछि यसलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गर्न कुनै ढिलाइ गरेन ।
मोदी आफैंले पनि यसलाई भारतको ठूलो सफलता भन्दै यो त आरम्भ मात्र भएको भन्न भ्याए । अनि भाजपा अध्यक्ष अमित शाहले राष्ट्रसंघको निर्णयको श्रेय मोदीको नेतृत्वलाई दिए ।
शाहले ट्वीट गरे, ‘यस्तै कारणले गर्दा भारतलाई बलियो र निर्णायक नेता आवश्यक छ । प्रम नरेन्द्र मोदी र उहाँको कूटनीतिक प्रयासप्रति आभारी छु ।’
अर्थमन्त्री अरुण जेटलीले भारतको दृष्टिकोण सही रहेको बताए । उनले भने, ‘मसूद अजहर अब वैश्विक आतंकवादी हो । भारत सुरक्षित हातमा छ ।’
गृहमन्त्री राजनाथ सिंहले पनि ट्वीट गर्दै भने, ‘यस कूटनीतिक सफलताको श्रेय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँले आतंकवादविरुद्ध उठाएको प्रभावकारी कदमको परिणाम हो ।’
लोकसभा निर्वाचनको निर्णायक चरण शुरू हुनै लागेका छन् । पाँच वर्षअघि भाजपाले उत्तर प्रदेश, बिहार, मध्य प्रदेश, झारखण्ड, राजस्थान र हरियाणामा शानदार सफलता प्राप्त गरेको थियो । अब बाँकी चरणका चुनाव यिनै राज्यमा हुन लागेका छन् र त्यहाँ भाजपाले आफ्नो जादू कायम राख्नुपर्ने थियो ।
त्यसैगरी बंगाल र उडिसामा भाजपाले पछिल्लो चुनावभन्दा राम्रो प्रदर्शनको अपेक्षा गरेको छ ।
राजनीतिक विश्लेषकहरूले बालाकोट हवाई आक्रमणपछि भाजपालाई चुनावमा फाइदा पुग्ने बताइरहेकोमा मसूद अजहरलाई वैश्विक आतंकवादी घोषणा मोदी सरकारले भाजपालाई झनै फाइदा पु–याउन सक्ने आँकलन गरेका छन् ।
एजेन्सी