०७ असार २०८३, आइतबार

आठबीसमा बाल लक्षित बजेट भलिबलमा 'स्वाहा' !

बैशाख १९, २०७६
आठबीसमा बाल लक्षित बजेट भलिबलमा 'स्वाहा' !
सन्दर्भ तस्वीर

सुर्खेत- दैलेखको आठबीस नगरपालिका वडा नं. ६ मा बाल लक्षित कार्यक्रम अन्तर्गत आएको एक लाख पचास हजार रुपैयाँ बजेट दुरुपयोग भएको पाइएको छ ।

वडाअध्यक्ष धीरबहादुर शाही र उनका नजिकका सल्लाहकारले उक्त रकम खुल्ला भलिबल प्रतियोगिताका नाउँमा सकेको स्थानीयले आरोप लगाएका छन् । 

‘बालबालिकालाई जो १७ वर्ष मुनिका छन्, उनीहरूका लागि विनियोजित बजेटलाई वडाभन्दा बाहिरका खेलाडी ल्याएर सक्ने काम भएको छ,’ नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘डेढ लाख रकम सिधै दुरुपयोग भएको छ ।’ उनका अनुसार वैशाख २ गते नगर उपप्रमुख दीपा बोहोराको प्रमुख आतिथ्यतामा उक्त भलिबल प्रतियोगिताको उदघाटन गरिएको थियो ।

‘न्यायिक समितिका संयोजक दीपा बोहोराले सहभागिता जनाउनु हुन्थेन,’ एक स्थानीयले भने, ‘उनी आफैं छानबिन गर्ने व्यक्ति भएका कारण बाल लक्षित कार्यक्रमको बजेट दुरुपयोग नगरौं भनेर सुझाव दिनुपर्नेमा उल्टै सहभागी भइन् ।’

भलिबल प्रतियोगितामा वडा नं. ४, ६ र ७ का युवाले भाग लिएका थिए । ‘जसका लागि बजेट छुट्याइएको हो, उनीहरूलाई ताली बजाउन लगाउने र रकमको दुरुपयोग गर्ने काम भएको छ,’ उनी भन्छन्, ‘नियमन गर्ने निकाय मौन रहेको छ ।’

यता वडाअध्यक्ष धीरबहादुर शाहीले भलिबल प्रतियोगिता आयोजना गरेको स्वीकार गरे । ‘त्यहाँका स्थानीयले बाल लक्षित कार्यक्रम अन्तर्गत खुला भलिबल प्रतियोगिता गरौं भने मैले एक लाख मात्रै खर्च गर्नु भनेको हो,’ अध्यक्ष शाहीले भने, ‘अब पचास हजार बाँकी होला । त्यो रकमबाट बालबालिकाको क्षेत्रमा खेलकुद या अन्य कुनै काम गर्ने योजना बनाएको छु ।’

यता आठबीस नगरपालिकाका नगरउपप्रमुख दीपा बोहोरालाई यस सम्बन्धमा बुझ्न खोज्दा फोन उठेन ।

salt training

कमेन्ट गर्नुहोस्