
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म पीएम नरेन्द्र मोदीको रिलिज मिति तय गरिएको छ । यो फिल्म अब जेठ १० गते सार्वजनिक हुने भएको छ ।
फिल्म एक महिनाअघि नै सार्वजनिक भइसक्नुपर्ने थियो तर विपक्षी दलहरूले फिल्ममाथि रोक लगाउनुपर्ने माग राखेपछि रिलिज रोकिएको थियो ।
सर्वोच्च अदालतले चुनाव आयोगलाई फिल्म हेरेर यसलाई सार्वजनिक गर्ने मितिमा निर्णय गर्न आदेश दिएको थियो ।
फिल्मको रिलिज रोक्नका लागि दिल्ली, मुम्बई र इलाहाबाद उच्च अदालतमा निवेदन दिइएको थियो । यो फिल्मले संविधानको स्वतन्त्र र निष्पक्ष चुनावको अवधारणालाई घात गर्ने जिकिर लिइएको थियो ।
फिल्मले आदर्श चुनाव आचारसंहिताको उल्लंघन गरेको आरोप विपक्षी दलहरूले लगाएका थिए ।
लोकसभा चुनाव नसकिउन्जेल फिल्ममा रोक लगाउने चुनाव आयोगको फैसलालाई सर्वोच्च अदालतले पनि सही ठहर गरिदिएको थियो ।
चुनाव आयोगले लोकसभा चुनाव चलिरहेको बेलामा मोदीको जीवनीमा आधारित फिल्म चल्दा चुनावमा असर पर्ने भनी प्रतिबन्धको निर्णय सही र वैध भएको जनाएको थियो । भाजपाले फिल्मबाट भरपूर चुनावी फाइदा लिने सर्वोच्च अदालतले पनि बताएको थियो ।
यस फिल्ममा विवेक ओबरोयले प्रधानमन्त्री मोदीको भूमिका निर्वाह गरिरहेका छन् । यसको निर्देशन ओमंग कुमारले गरेका छन् ।
एजेन्सी