काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण भएको बताउनुभएको छ ।
दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एसियाले नै आर्थिक विकास र उन्नतिलाई प्राथमिकतमा राख्नुपर्ने समेत बताउनुभयो । ‘हामी समृद्ध दक्षिण एसिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको समेत बताउनुभयो । दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा छ ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्त्व दिएर अघि बढेको पनि बताउनुभयो ।
“हामीले सुशासन र विकासलाई महत्त्व दिएर अघि बढेका छौं,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही समय विभिन्न कारणले हामी पछि पर्यौं तर अब त्यो समय सकियो । हामी अघि बढ्छौं ।”