काठमाडौँ, ३ पुस- राजधानीमा मेट्रो रेल गुडाउने सम्भाव्यता अध्ययन सकिएको चार वर्ष पूरा भइसके पनि लगानी अझै जुट्न सकेको छैन । सम्भाव्यता अध्ययन सकिएलगत्तै सरकारले लगानी बोर्डमा लगानी खोज्न प्रतिवेदन बुझाएको थियो । तर, मेट्रो रेल सञ्चालन गर्न चाहिने लगानी जुटाउन बोर्ड असफल भएको छ, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
महत्वाकांक्षी ‘मेट्रो रेल’को सञ्जाल उपत्यकाका ठूला सहरलाई लक्षित गरी निर्माण गर्ने तयारी थियो । उपत्यकामा ‘मेट्रो रेल’ निर्माणको सम्भाव्यता अध्ययन रेलवे विभागको संयोजकत्वमा कोरियन कम्पनी छुङ सू इन्जिनियरिङले तयार गरेको थियो । यसका लागि कम्पनीलाई एक वर्ष लागेको थियो ।
अध्ययनअनुसार उपत्यकाभित्र पाँच लाइनमा सञ्चालन हुन्थे ‘मेट्रो रेल’ । पहिलो, दोस्रो र तेस्रो लाइनमा गुड्ने रेलका लागि लिक ‘फ्लाइओभर’मा हुन्थे । चौथो र पाँचौँ लाइनमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिन्थ्यो । पहिलो लाइनमा चल्ने रेलको रुट सातदोबाटो–पुल्चोक–त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म हुने व्यवस्था थियो । दोस्रो लाइनमा चल्ने रेलको लिक कलंकी–कालिमाटी–माइतीघर–तीनकुने हुँदै एयरपोर्टसम्म हुने उल्लेख थियो । तेस्रो लाइनमा चल्ने रेलका लिक चक्रपथवरिपरि निर्माण हुने व्यवस्था थियो ।
चौथो नम्बरको अन्डर ग्राउन्डमा चल्ने रेलका लागि स्वयम्भू–छाउनी–बागबजार–डिल्ली बजार–पुरानो बानेश्वर–गौशाला–चाबहिल हुँदै बौद्धसम्म लिक निर्माण गरिने डिपिआर प्रतिवेदनमा उल्लेख थियो । पाँचौँका लागि धोबीघाट–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँबजार हुँदै गोंगबुसम्मको लिक निर्माण गरिने व्यवस्था मिलाइएको थियो ।