
एजेन्सी- एशियाकै सबैभन्दा धेरै तौल भएकी महिला अमिता राजानीको वजन बेरियाट्रिक सर्जरीपछि ३ सय किलोग्रामबाट घटेर ८६ किलोग्राममा आइपुगेको छ । लीलावती अस्पताल र हिंदुजा हेल्थकेयर सर्जिकल अस्पतालमा लेप्रो ओबेसो सेन्टरका संस्थापक डा. शशांक शाहले चार वर्षको बीचमा दुई चरणमा शल्यक्रिया गरेपछि अमिताको वजन घटेको बताए ।
चिकित्सकको यस सफलतालाई अब लिम्का बुक अफ रेकर्ड्समा दर्ता गराउने प्रक्रिया शुरू भएको छ । अमिताको बेरियाट्रिक शल्यक्रियामा २० जना चिकित्सकको टोली खटिएको थियो । टोलीका प्रमुख डा. शशांक शाहले भने, 'उनमा सुपर मोर्बिड ओबेसिटीसँगै कोलेस्ट्रोल, डायबिटिज तथा श्वासप्रश्वासमा समस्या थियो ।'
सन् २०१५ मा उनको पहिलो शल्यक्रिया भएको थियो । त्यसपछि सन् २०१७ मा उनको दोस्रो पटक शल्यक्रिया भयो ।
अमिताको पहिलो शल्यक्रिया आधा घण्टासम्म चलेको थियो । उक्त शल्यक्रियामा ४ सहायक सर्जन, २ एनेस्थेटिस्ट, २ नर्स, ९ वार्ड ब्वाई, १ फिजिशियन, १ चेस्ट फिजिशियन, १ आईसीयू का डाक्टर र १ किड्नीको डाक्टर थिए ।
दोस्रो शल्यक्रियाको समयमा उनको शरीरको तौल १५० किलोग्राम थियो । उनको शल्यक्रियामा कुनै खास समस्या नपरेको डा. शाहले बताए ।

शरीरको तौल २१४ किलो कम भएपछि अमिता राजानीले आफ्नो जिन्दगी ओछ्यानबाट बाहिरसम्म पुगेको बताइन् । उनले भनिन्, 'अब म स्वत्नत्र भएँ । अन्य सामान्य मानिसले गर्न सक्ने काम अब म पनि गर्न सक्छु ।'
शल्यक्रियाअघि उनी हिँडडूल गर्न पनि सक्ने थिइनन् ।