१० असार २०८३, बुधबार

शक्तिखोरमा बन्ने भयो युद्ध संग्राहलय, डीपीआर तयार हुँदै

बैशाख २७, २०७६
शक्तिखोरमा बन्ने भयो युद्ध संग्राहलय, डीपीआर तयार हुँदै

चितवन –तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डिपिआर निर्माण गर्न लागेको हो ।

नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं ८स्थित गैरीबारीमा सङ्ग्रहालय बनाउने तयारी भएको र यसका लागि आवश्यक पर्ने जग्गा प्रतिवेदनमा उल्लेख भएपछि निर्धारण गरिने उनले बताए । 

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउनका लागि श्रेष्ठलाई आग्रह गरेका थिए ।

नगरप्रमुख श्रेष्ठले भने, “प्रचण्डज्यूले डिपिआर गर्न भन्नुभएको छ, हामी यथाशीघ्र डिपिआर तयार गर्छौं ।” सबै प्रक्रिया सम्पन्न गरेर आउँदो आर्थिक वर्षबाट डिपिआरको काम शुरू गर्ने तयारी गरिएको छ । 

उनले आउँदो आर्थिक वर्ष बजेट विनियोजन गरी काम अगाडि बढाउन लागिएको बताए । विश्वका उत्कृष्ट युद्ध सङ्ग्राहलयसमेत अध्ययन गरेर डीपीआर तयार गरिने योजना छ ।

सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार,   दस्तावेजलगायतलाई सङ्कलन गरेर उक्त सङ्ग्रहालयमा राखिनेछ ।

दश वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने खालका कला कुँदेर देखाउन सकिने नगरप्रमुख श्रेष्ठले बताए ।

उक्त सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थल बन्नसक्ने उनको भनाइ थियो । सो क्षेत्र पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ ।

सङ्ग्रहालय बनेसँगै यहाँ आउने पर्यटकको बसाईं लम्बिने र पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष  प्रचण्ड, रामबहादुर थापा बादललगायतको गृहजिल्ला हुनाका साथै  देशको केन्द्रबिन्दुमा यो क्षेत्र परेकाले उक्त सङ्ग्रहालय छिटो बन्ने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्