
विराटनगर- उमेरले ६० नाघेका विदेशी नागरिक जाई वैशाख अन्तिमको तातो घाममा ढुङ्गा टिप्ने अनि ओसार्ने काममा व्यस्त थिए । उनले यसरी काम गर्न थालेको ५ दिन पुगिसकेको छ ।
हरेक दिन बिहान ८ बजेदेखि साँझको ५ बजेसम्म उनी यसै गरी काममा लागेका छन् । वैशाखको २७ गतेको तातो घामका बीचमा खलखली पसिना पुछ्दै काम गर्दै गरेका जाईलाई यसरी दु:ख गर्नु उनको बाध्यता होइन । उनलाई नपुग्दो पनि केही छैन । उनी आफ्नो थोरै श्रमदानले धेरै ठूलो काम हुन्छ भन्ने सोचेर न्यूजिल्याण्डबाट आएको बताउँछन् ।
न्युजिल्याण्डबाटै आएका अर्का व्यक्ति पिटर पनि घर बनाउने काममा व्यस्त थिए । घर बनाउनको लागि प्रयोग हुने मसला बोक्ने जिम्मा उनको थियो । उनका साथीहरू बालुवा, गिट्टी र सिमेन्टको घोल बनाउँथे भने पिटरसहित अरू साथी त्यो बनाएको सामग्रीलाई भवन निर्माण भइरहेको ठाउँमा पुर्याउने अनि हाल्ने काम गर्थे ।

उनको पनि उमेर ५० को हाराहारी हो । तराईको गर्मीमा बिहानै ८ बजे काममा आउने उनी दिउँसो १ बजे खाना खाने समय बाहेक ५ बजेसम्म निरन्तर काममा खटिन्छन् ।
यसरी यो काममा लागेका २ जना मात्र होइन २६ जना न्यूजिल्याण्डबाट आएका हुन् । उनीहरू न्यूजिल्याण्डको विलटेक एजेन्सीका कर्मचारी हुन् । त्यहाँबाट श्रमदान गर्नको लागि आएको पिटरले बताए ।

यसरी आएर काम गरेकाहरू कोही इन्जिनीयर हेड, कम्पनीका सञ्चालक, सिईओ तथा त्यस संस्थामा काम गर्ने सबै कर्मचारी रहेको पिटर बताउँछन् । सबै मिलेर काम गर्दा नहुने काम पनि सजिलै पूरा हुने उनको भनाइ छ ।
ढुङ्गा, बालुवा तथा गिट्टीसँग खेलेर कन्ष्ट्रक्सनको काम निक्कै नै गाह्रो भएपनि काम गर्न रमाइलो भएको अर्का न्यूजिल्याण्डका नागरिक जोसले बताए ।
मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ को धनपुरामा निर्माण हुँदै गरेको सुकुम्बासी बस्ती निर्माणका लागि श्रमदान गर्न उनीहरू यहाँ आएका हुन् ।
सोमवार आएका उनीहरू शुक्रवारसम्म काम गरे शनिवार फर्किएका छन् । यूएन ह्याबिट्याटको सहकार्यमा विराटनगर महानगरपालिका, साहारा नेपाल र जीवन विकास समाजको सहयोगमा धनपुरामा ६० वटा घर निर्माणको काम भइरहेको छ । अति बिपन्न सुकुम्बासी मुसहर समुदायका लागि घर निर्माण कार्य भइरहेको हो ।
पहिलो चरणमा खोला किनारमा बसेर बाढी प्रभावित ३२ परिवारका लागि घर निर्माणको काम भइरहेको विराटनगर महानगरपालिका अधिकृत पुनम दाहालले बताए । अहिले विराटनगर महानगरपालिकाले भाडामा लिएको जग्गाका ती सुकुम्बासीलाई ल्याएर यहाँ व्यवस्थापन गरेपछि थप घरहरू निर्माणको काम हुने उनले जानकारी दिए ।

विराटनगर महानगरपालिकाले यो धनपुराको मुसहर बस्ती निर्माणका लागि १ बिगाहा ४ कठ्ठा जग्गा उपलब्ध गराएपछि काम शुरू भएको हो । करीब २ महिनादेखि निर्माणको क्रममा साहारा नेपालले ३० र जीवन विकासले ३० वटा घर निर्माण गर्नेछन् । जसमा विराटनगर महानगरपालिकाले खानेपानी, ढल निकास, सडक, बिजुली र जग्गा व्यवस्थापनको जिम्मा लिएको छ । त्यहाँको संरचना निर्माणको काममा साहारा र जीवन विकासले गर्ने कामको प्राविधिक सहयोग यूएन ह्याबिट्याटले गर्ने छ ।
२ कोठा, १ भान्सासहित शौचालय, स्नान गृह र बरण्डासमेत रहनेगरी नमुना घर निर्माण हुने छ । घर पूर्ण निर्माण भइसक्दा प्रतिघर ४ लाख ८० हजार खर्च हुनेछ । सहारा नेपाल सेवा केन्द्र विराटनगरका प्रमुख घनश्याम अधिकारीले पहिलो चरणमा निर्माण हुने ३२ घरमध्ये १६ वटा सहारा र १६ वटा जीवन विकासले नै निर्माण गर्ने बताए ।