३१ असार २०८३, बुधबार

कैदीबन्दीका मुढाले बजार पाएन

बैशाख २९, २०७६
कैदीबन्दीका मुढाले बजार पाएन
फाइल फोटो

तनहुँ- बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको छ । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन ।

विभिन्न अपराधमा सजाय भोगिरहेका कैदीबन्दी उत्पादन गरिएका मुढा बिक्री नभएपछि चिन्तित भएका छन् । बन्दी विष्णुहरि घिमिरेले बाहिर सस्तोमा मुढा आउन थालेपछि आफूले बनाएको मुढा बिक्री नभएको बताए । उनका अनुसार कारागारबाट २५० रुपैयाँदेखि ३७५ रुपैयाँसम्मका मुढा बिक्री हुँदै आएको र अहिलेसम्म ती मुढामा गुनासो आएको छैन । 

पाँच सयभन्दा बढी मुढा बिक्री नभएपछि कैदीबन्दीले मुढा बनाउनसमेत छाडेका जानकारी दिँदै बन्दी घिमिरेले भने, 'मेरो मात्रै ३०० भन्दा बढी मुढा बिक्री भएको छैन । अरू साथीको पनि बिक्री नहुँदा अहिले काम नै बन्द गर्नुपरेको छ ।' कारागारमा बित्ने समयको सदुपयोग र आम्दानीको बाटोको रूपमा रहेको मुढा बिक्री नहुँदा आफूहरूलाई चिन्तित बनाएको अर्का कैदीबन्दी विनोद गन्दर्भले बताए ।

कारागारमा रहेका कैदीबन्दीमध्ये ७० ले मुढा बुन्ने गरेको कारागार प्रशासनले जनाएको छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्दै आएका छन् । टायर राखेको १० रुपैयाँ, मुढा उठाएको १५ रुपैयाँ, बिट मारेको र बुट्टा भरेको ३०/३० रुपैयाँ का दरले कैदीबन्दीले पाउने गर्छन् । यसरी काम गर्दा एक जनाले मासिक पाँचदेखि छ हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् ।

कारागारका निमित्त प्रमुख नारायण अधिकारीले मुढा बिक्री नभएपछि कैदीबन्दीले आफूलाई समेत गुनासो गरेको र मुढा बिक्रीका लागि आफूले प्रयास भइरहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्