
राष्ट्रपति निर्वाचित हुनुअघि नै डोनल्ड ट्रम्प हेपाहा प्रवृत्तिका मानिस हुन् भन्ने धेरैलाई थाहा थियो तर उनको हेपाइले कस्तो असर पार्छ भन्ने धेरैलाई थाहा थिएन ।
ट्रम्पले प्रयोग गर्ने अतिवादी शब्दावलीले अमेरिकालाई विभाजित गरेको छ । तर उनको कार्यकालको आधीभन्दा अलिक बढी समय बितिसक्दा उनले विभाजनका रेखाहरू विदेशमा पनि कोर्न थालेका छन् । उनले यसमा नियन्त्रणका लागि उपलब्ध सबै व्यवस्था भत्काइसकेका छन् ।
अघिल्लो साता परराष्ट्रमन्त्री माइक पम्पिओले ट्रम्पकै गैरकूटनीतिक बाटो पछ्याएर बेलायतको भ्रमणमा त्यहाँकी प्रधानमन्त्री टेरिजा मेको आलोचना गरे अनि उनलाई पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरसँगको तुलनामा नीचो देखाउने प्रयास गरे ।
हुआवेलाई बेलायती परियोजनामा काम गर्न दिने मेको निर्णयलाई सन्दर्भ बनाउँदै उनले लन्डनमा भेला भएका मानिसलाई भने, ‘आफैंलाई सोध्नुस् ः चीनले भ्रष्टाचार र दबाबमार्फत अन्य मुलुकको सार्वभौमसत्ताको उल्लंघन गर्दा आइरन लेडी चुप लागेर बस्थिन् होला त ?’
अघिल्लोपटक ट्रम्पले बेलायत भ्रमण गर्दा पनि मेको आलोचना गरेका थिए र ब्रेक्जिटका विषयमा आफूले दिएको सल्लाहलाई मेले बेवास्ता गरेको र तत्कालीन परराष्ट्रमन्त्री बोरिस जोन्सनले बरू राम्रो काम गर्न सक्ने भनेका थिए ।
यी कुराहरू त्यत्तिकै अव्यवस्थित तरिकाले भनिएका हैनन् । यो त सुनियोजित हेपाइ हो । यसपालि ट्रम्प चीनमाथि हावी हुन चाहन्छन्, यसअघि उनी युरोपेली संघलाई टुक्र्याउन चाहन्थे ।
ट्रम्पले आफ्ना आक्रामक तेवर शत्रुका विरुद्ध उपयोग गर्छन् भन्ने त धेरैलाई थाहा थियो तर उनले आफ्नै साझेदारलाई छिट्टै र गहिरो तवरले विभाजन गर्छन् भन्ने कुरा निकै कमलाई थाहा छ ।
हेपाहा प्रवृत्ति देखाउने व्यक्तिले आफूलाई डर लाग्ने व्यक्तिलाई कहिले पनि हेप्दैन । त्यसैले ट्रम्प संसारका अन्य नेतालाई हेपे पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने कहिल्यै गाली गर्दैनन् अनि उनीसँग एकान्तमा भेटघाट गर्छन् र सार्वजनिक स्थानमा पनि उनीका अगाडि कमजोर देखिन्छन् ।
बाराक ओबामापछि राष्ट्रपति बनेका ट्रम्पको रणनीति स्तब्ध बनाउने खालको छ । ओबामाले कोरेका परराष्ट्रनीतिका सबै आयामलाई ट्रम्पले भत्काउने लक्ष्य लिएका छन् ।
ओबामा ब्रेक्जिटमा मतदान हुनुअघि बेलायत पुग्दा एउटा सन्देश लिएर गएका थिए तर उनले उक्त सन्देश तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरोनसँगको सल्लाहमा प्रवाहित गरेका थिए, पम्पिओ र ट्रम्पले झैं जोरी खोजेर हैन ।
ओबामाले बेलायतको प्रभावशाली आवाज युरोपेली संघभित्रै रहोस् भन्ने इच्छा राखेका थिए । संघ छोडेपछि अमेरिकासँग व्यापारिक सम्झौताका लागि पंक्तिको अन्त्यमा बस्नुपर्ने भनी उनले बेलायती मतदाताहरूलाई चेतावनी दिएका थिए ।
ट्रम्पले ओबामाका राष्ट्रिय नीतिलाई ध्वस्त पारे झैं उनको अन्तर्राष्ट्रिय विरासतलाई पनि छिन्नभिन्न बनाएका छन् । इरानसँगको आणविक सम्झौताबाट उनले अमेरिकालाई निकालेका छन् ।
ट्रम्पले उत्तर कोरियाको आणविक हतियार सम्झौतालाई नाटकीय मोडमा ल्याएका छन्, एसियासँगको ओबामाकालीन व्यापार योजनालाई पल्टाएका छन् र अहिले युरोपेली संघमा विभाजनको बीउ रोपेका छन् ।
अघिल्लो हप्ता ट्रम्पले चीनलाई हेप्ने प्रयास झनै बढाएर चिनियाँ सामानमा आयातकर बढाउने घोषणा गरे । चीनका व्यापारिक सम्झौताकारहरू वाशिङटन डीसीमा वार्ताका लागि बस्नै लागेको बेलामा उनले यसो गरे । उनीहरूले चीन आफ्नो वैध अधिकार र चासोको सुरक्षाका लागि तयारी अवस्थामा रहेको, सुनिश्चित रहेको र सक्षम पनि रहेको भनी चेतावनी दिए ।
व्यापारयुद्ध होला भनी वैश्विक बजार डराएको छ र त्यसो भयो भने त्यसको खतरनाक परिणाम सबैले भोग्नुपर्ने हुन्छ ।
किम जोङ उन र डोनल्ड ट्रम्पबीच दोस्ती त भएको छ तर उनीहरूबीचको वार्ताले अर्थपूर्ण परिणाम ल्याएको छैन ।
ट्रम्पले पहिला त किमलाई ध्वस्त बनाइदिने चेतावनी दिएका थिए तर किमले ट्रम्पलाई औंलामा घुमाएर हामी त साथी हौं भनिदिए । ट्रम्पले त्यो पत्याए अनि अहिले किम फेरि क्षेप्यास्त्र परीक्षण गर्न लागिपरेका छन् र युद्धको जोखिम कायम छ ।
इरानलाई ट्रम्पले हेपेको हेप्यै छन् । ओबामाले गराएको आणविक सम्झौताबाट अमेरिकालाई निकालेर इरानमाथि आर्थिक प्रतिबन्ध लगाउँदै उनीहरूको फलाम, स्टील तथा तामाको निर्यातमा रोक लगाएर मात्र नपुगी उनले इरानको जलक्षेत्रमा अमेरिकाको जलसेनाको टुकडी नै तैनाथ गरे ।
इरानले पनि यसको प्रतिकार गर्दै आणविक सम्झौताका केही प्रावधान नमान्ने धम्की दिइसकेको छ । यसले गर्दा सम्झौतामा कायम रहनका लागि अनि इरानको समर्थन गर्नका लागि युरोपमाथि दबाब परेको छ ।
बिहीवार इरानका परराष्ट्रमन्त्री जवाद जरिफले एउटा ट्वीट लेखेर ‘अमेरिकाले युरोप र बाँकी विश्वलाई हेपेको’ आरोप लगाए ।
युरोपेलीहरूले इरानलाई सम्झौता पालन गरिरहन भने र यसले उनीहरूबीच विभाजनको रेखा कोरिदियो ।
ट्रम्पले अमेरिकाका साझेदारहरूलाई आफूमाथि ध्यान दिन र समर्थन दिन नत्र प्रतिबन्ध झेल्न भनिरहेका छन् ।
ट्रम्पले यसरी साझेदारहरूलाई कुल्चिरहँदा उनीहरूलाई गाह्रो पर्न थालेको छ ।
अघिल्लो वर्षको नाटो शिखरवार्तामा ट्रम्पले जर्मनीकी चान्सलर अंगेला मर्कललाई रुसको बन्दी बनेको आरोप लगाए अनि क्युबेकमा भएको जी७ शिखर सम्मेलनमा उनले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको अपमान गरे । सम्मेलनमा उनी ढिलो पुगे, छिट्टै निस्किए अनि घोषणापत्रमा सही गर्न पनि मानेनन् ।
हुन त दुवै नेताले यस विषयलाई थप चर्काएनन् तर ट्रम्पको रणनीतिप्रतिको घृणा बढिरहेको छ ।
अघिल्लो वर्ष पनि टेरिजा मेले आफ्नो नेतृत्वमाथि ट्रम्पले गरेको आलोचनाको प्रतिकार गरिन् ।
अनि आफ्नै शैलीमा उनले क्षमा मागे र आफूलाई गलत रूपमा उद्धृत गरिएको दाबी गरे । खबर छाप्ने पत्रिकाले पूर्ण पाठै छापेर ट्रम्प गलत रहेको पुष्टि गरिदियो ।
हेपाहा व्यक्तिले आफ्नो विपक्षी कमजोर देखिएको बेलामा बढी दपेट्ने गर्छ । मे त्यतिखेर पनि राजनीतिक रूपमा कमजोर थिइन् अनि ब्रेक्जिटको अव्यवस्था चलिरहँदा उनी अहिले सकिने अवस्थामा पुगेकी छन् । त्यसैले ट्रम्प र पम्पिओ उनलाई आक्रमण गरिरहेका छन् र बेलायतलाई युरोपेली संघ तथा अन्य साझेदारबाट मुक्त गर्न चाहन्छन् ।
ट्रम्प प्रशासनको रणनीति नै होला, पम्पिओ र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सबै किसिमका नियन्त्रण गुमाइसकेका छन् । उनीहरू वैश्विक रूपमा ट्रम्पले भनेको कुरा लागू गराउने मुस्टन्डे हुन् । आफ्नो बोसले जे चाहेको हो त्यो पाउनका लागि उनीहरू साझेदार र शत्रु दुवैमाथि अधिकतम दबाब दिइरहेका छन् ।
ट्रम्पले अमेरिकामा जनताका भावना भड्काएर पछि त्यसलाई शान्त बनाउन त सक्लान् तर उनले वैश्विक साझेदारहरूलाई टुक्र्याएर फेरि जोड्ने कुनै योजना नै नबनाएकाले झनै ठूलो जोखिमको स्थिति आएको देखिन्छ ।
सीएनएनमा प्रकाशित निक रोबर्टसनको विश्लेषण