
काठमाडौं– अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुखले सेवाग्राहीलाई प्रत्यक्ष प्रभाव पर्ने र छिटो छरितो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइतवार राजधानीमा दुवै प्रमुखले संयुक्त पत्रकार सम्मेलन गर्दै प्रहरीको कारणले कुनै पनि सेवाग्राहीले काममा ढिलासुस्ती नहुने बताएका हुन् ।
‘दुवैको शाखाको काम एउटै भएकाले किन एकै भएर काम नगर्ने ?.’ काठमाडौं पसिरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पत्रकारको उत्तरको जवाफ दिँदै भने ।
आफूहरूको काम गर्ने क्षेत्र एउटै भएको र यसले राम्रो सन्देश जाने अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले बताए । थापाले भने, 'देशभरका अपराधीहरू एकै ठाउँमा आउन सक्छन् भने हामी किन नआउने ?’
आफूहरूको सहकार्यले एकताले सेवा प्रवाहमा शतप्रतिशतमा ल्याउन जोड रहेको र जनातामा शान्ति सुरक्षा कायम गर्नु प्रहरीको दायित्व भएको दुवै प्रमुखले बताए ।
वैदेशिक रोजगारी, विदेशमा पढ्न जाने र चेक बाउन्सका घटनाहरू बढ्दै गएकाले अब प्रहरीले यस्ता अपराध गर्ने तर्फ ध्यान गएको र यस्ता अपराधीलाई कानूनको दायरामा ल्याउने दुवै प्रमुखको भनाइ थियो ।