१० साउन २०८३, आइतबार

जनकपुरधाममा २ करोड बढीका सवारीसाधन खरिद, लापरवाहीले एकैवर्षमा खराब !

बैशाख ३१, २०७६
जनकपुरधाममा २ करोड बढीका सवारीसाधन खरिद, लापरवाहीले एकैवर्षमा खराब !

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले चालू आर्थिक वर्षमा करोडका सवारीसाधन खरिदमा मात्रै करोडौं रुपैयाँ खर्च गरेको छ ।

शहरमा पूर्वाधार विकास निर्माण गर्नका लागि आउने पूँजीगत बजेटबाट सवारीसाधन खरिदमा खर्च गरिएको छ । 

उपमहानगरपालिकाका लेखापाल दिनेश चौधरीका अनुसार चालू आर्थिक वर्षमा सवारीसाधनको खरिदमा २ करोड २५ लाख २६ हजार ५ सय ४१ रुपैयाँ खर्च गरिसकिएको छ । कतिपय खरिद गरिएका सवारीसाधनको भुक्तानी गर्न बाँकी रहेको हुन सक्ने उनले बताए ।

खरिद गरिएकामध्ये ४ वटा टिप्परको ८८ लाख रुपैयाँ, ४ वटा ट्रयाक्टरको ५० लाख रुपैयाँ, प्रकासकीय अधिकृत चढ्ने गाडीको ३६ लाख ३९ हजार रुपैयाँ रहेको जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई चढ्नका लागि ‘पीक अप’ गाडी र २५ जना वडाध्यक्षका लागि मोटरसाइकल खरिद गरिएको छ । जनकपुरधामकै जानकी अटो सेन्टरबाट प्रतिमोटरसाइकल २ लाख ७४ हजार ७ सय रुपैयाँका दरले खरिद गरेर भुक्तानी गरिएको छ ।

उपमहानगरको जिन्सी शाखाका प्रमुख गणेश यादवका अनुसार २५ जना वडाध्यक्षको लागि मोटरसाइकल खरिद गरिएको भएपनि वडा नम्बर १० का वडाध्यक्ष मिथिलेशलाल कर्णले मोटरसाइकल लिएका छैनन् ।
‘आफ्नो वडाको बजेटबाट ५ लाख रुपैयाँमा सफाइको लागि टेम्पो किन्ने योजना बनाएको थिएँ तर मेयर सा’पले त्यसरी वडाले सवारीसाधन किन्न मिल्दैन भन्नुभयो,’ वडाध्यक्ष कर्णले भने, ‘मैले आफ्नो वडामा सफाइको लागि गाडी कुदाउन सकेको छैन, त्यस्तो अवस्थामा मैले उपमहानगरको मोटरसाइकल चढ्ने नैतिकताले पनि नदिने भन्दै मोटरसाइकल नलिएको हो ।’ 

वडाध्यक्षलाई दिइएको मोटरसाइकलको सवारीधनीमा उपमहानगरकै नाम राखिएको छ । पुरानो ३ थान मोटरसाइकल भने कर्मचारीले चढ्दै आएका छन् । सफाइ प्रमुख ललन कर्ण, सफाइ सुपरीवेक्षक मेहदी हुसैन र लेखापाल दिनेश चौधरीले पुरानो मोटरसाइकल चढिरहेका छन् ।

उपमहानगरले चालू आर्थिक वर्षमा ४ थान मिनी टिप्पर र २ थान ट्रयाक्टर समेत किनेको छ । मिनि टिप्पर फोहोर उठाउनका लागि किनिएको हो । तर किनिएको ४ थान ट्रयाक्टरमध्ये १ थान ट्रयाक्टरको इन्जिन नै बिग्रिसकेको एक जना कर्मचारीले बताए । इन्धनमा लाखौं रुपैयाँ खर्च गरिरहेको उपमहानगरपालिकाले मोबिलका लागि समयमा भुक्तानी नदिँदा इन्जिन नै बिग्रिएर ग्यारेजमा थन्काइएको एक जना चालकले बताए । 

जिन्सी फाँटका अधिकृत गणेश यादव भने इन्जिन नबिग्रिएको दाबी गर्छन् । ‘बिग्रन त बिग्रेकै हो तर इन्जिन नै सिज भएको छैन,’ यादवले भने, ‘खरिद गरिएका नयाँ २ वटा स्वराज ट्रयाक्टरलाई ग्यारेजबाट फिर्ता झिकाएका छौं ।’ खरिद गरेकै वर्ष सवारीसाधन बिग्रिएर ग्यारेजमा थन्किएका छ ।

उपमहानगरका आफ्नै सवारीसाधन मर्मतकर्ता मोहम्मद रेजा उल्लामार्फत ठीक गराउने सोचका साथ ग्यारेजबाट ट्रयाक्टर फिर्ता झिकाइएको उनले बताए । रेजालाई ‘मेकानिक’ भन्दै नियुक्त गरिएको छ ।
सवारीसाधन हुँदाहुदै पनि उपमहानगरले सवारीसाधन भाडामा समेत लिएर लाखौं रुपैयाँ खर्च गरेको छ । चालू आर्थिक वर्षको चैत्र महिनासम्म चालू खर्च अन्तर्गत सवारी भाडामा मात्रै १ लाख ७८ हजार रुपैयाँ खर्च गरिएको छ ।

पुरानोको पनि बेहाल !

जिन्सी शाखाले दिएको जानकारी अनुसार उपमहानगरमा पुरानो सवारीसाधनमध्ये धेरैजसो काम नलाग्ने अवस्थामा आइपुगेका छन् । उपमहानगरमा वारुण यन्त्रको २ थान पुरानो दमकल छ । दुवै दमकल काम चलाउ अवस्थामा मात्रै छ । आलोपालो मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने गरेको जिन्सी प्रमुख यादवले बताए । १ थान पुरानो र १ थान नयाँ गरेर २ थान एम्बुलेन्स रहेकोमा एउटा पूर्णरुपले बिग्रेर थन्किएको छ । अर्को नयाँ एम्बुलेन्स चालू अवस्थामा रहेपनि प्रायःजसो सञ्चालनमा आउने गरेको छैन ।

२ थान पुरानो ‘एक्साभेटर लोडर’मध्ये दुवै बिग्रेका छन् । १ थान मर्मत गर्नका लागि ग्यारेजमा पठाइएको छ भने अर्को थन्क्याएर राखिएको छ । पहिलेका पुराना ९ थान ठूला टिप्पर बिग्रेर थन्केका छन् ।

यादवका अनुसार ४ थान टिप्परमा मर्मत गर्न धेरै खर्च लाग्ने अवस्था छ भने ५ थानलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकिन्छ । मर्मत गरेर सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाइसकिएको उनले बताए । ५ थान पुरानो ट्रयाक्टरमध्ये १ थान मात्र चालू अवस्थामा छ । १ थान लिलामीको प्रक्रियामा रहेको छ भने ३ थान ट्रयाक्टर बिग्रेर थन्किएका छन् ।

पुरानो १ थान जीप र १ थान स्वराज ट्रयाक्टर लिलामी प्रक्रियामा छ । जिन्सी शाखा प्रमुख यादवका अनुसार ती सवारीसाधनको मूल्यांकन कबाडीको दाममा गरिएको भएपनि लिलामी हुन सकेको छैन । त्यसैले फेरि पनि मूल्यांकन घटाएर नयाँ सूचना प्रकाशित गरेर लिलामी गरिने उनले बताए । 

चालू आर्थिक वर्षको चैत्र महिनासम्ममा सफाइ साधनको इन्धनमा मात्रै ४४ लाख ५ हजार ३ सय ५९ रुपैयाँ खर्च गरेको छ । सफाई औजार तथा सामग्री खरिदमा १ करोड ६३ लाख ५९ हजार ९ सय ६८ रुपैयाँ खर्च गरिएको छ । चैत्रसम्म सवारीसाधन मर्मतमा ३ लाख ८१ हजार ४ सय ४८ रुपैयाँ खर्च गरिएको छ ।

सफाइमा मात्रै सबैभन्दा बढी खर्च हुने गरेको छ तर नगरको सरसफाइको अवस्थामा भने सुधार हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्