काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मिडिया काउन्सिल विधेयक फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले मानवअधिकार आयोगको अधिकार कटौती गर्ने विधेयक पनि संशोधनको माग गरेको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा पूर्व बजेट छलफलको क्रममा कांग्रेस सचेतक कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले मौलिक अधिकार कार्यान्वयन गर्ने कुरा बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेपनि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।
‘विनियोजन विधेयककका सिद्धान्त र प्राथमिकतामा मौलिक अधिकार कार्यान्वयको कुरा गरिएको छ तर ‘हजुरको सरकार’ले नेपाल मिडिया काउन्सिल विधेयक ल्यायो विधेयक ल्यायो यो विधेयक प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खालको छ, वैचारिक स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको छ, फर्काएर लैजानुहोस् भन्ने हाम्रो मान्यता छ ।’
सरकारले सिद्धान्तमा मौलिक अधिकारको कुरा गर्ने तर व्यवहारमा मौलिक अधिकार विरोधी काम गरिरहेको उनले आरोप लगाए ।
संविधानको धारमा १७ प्रेसमा स्वतन्त्रता, सञ्चारको हकको सुनिश्चितताको कुरा छ, नागरिक अधिकार र मानव अधिकारको हकको कुरा रहेपनि त्यस प्रतिकूल विधेयक आएको उनले आरोप लगाए । खाणले सरकारलाई ‘हजुरको सरकार’ सम्बोधन गर्दै भने, ‘मेरो सरकार भन्न मिल्यो कि मिलेन ?’
कांग्रेसले संविधानमा मानव अधिकारको सुनिश्चितता गरिएको र मानवअधिकार आयोगको सुनिश्चितता गरिएको उल्लेख गर्दै आयोगको अधिकार कटौती गर्ने विधेयक संशोधन गर्न माग गरे ।
‘सरकारले मानवअधिकार आयोगको स्वायत्तता र स्वतन्त्रता खण्डित गर्ने गरी ल्याएको विधेयक फिर्ता लिएर, मानव अधिकारको रक्षा हुने खालको ल्याइयोस् भन्न चाहन्छु,’ खाणले भने ।
खाणको समर्थन गर्दै कांग्रेसकै प्रदीप गिरीले स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता गर्न माग गरेका छन् ।