
काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीवार काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
शनिवार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुने मौसमविद् प्रधानाङ्गले बताए । पूर्व मनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरिरहने उनको भनाइ छ ।
राति देशका पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी क्षेत्रमा आंशिक बदली रही पहाडी भागका केही स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि १–२ स्थानमा हावाहुरीसहित हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ ।
शनिवार देशका पहाडी भागमा आंशिक बदली रही पश्चिमी पहाडी क्षेत्रका केही स्थान तथा मध्य र पूर्वी भागका १–२ स्थानमा समेत मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बिहीवार काठमाडौंको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस र अधिकमत तापक्रम २८.५ डिग्री सेल्सियस रहने छ । यसैगरी नेपालगञ्जको अधिक मत तापक्रम ४०.५ डिग्री सेल्सियस रहने जनाइएको छ ।