
काभ्रेपलाञ्चोक - काभ्रेको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जंगलमा दुई जनाको मृतावस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षले दिएको जानकारीअनुसार खानेपानी मर्मतका लागि गएका दुवै जनाको आज बिहान शव फेला परेको बताए ।
सो वडाका वडाध्यक्ष दूधराज तामाङका अनुसार गाउँमा उपभोग गर्दै आएका खानेपानीको धारामा पानी नआएपछि मुहानतर्फ हेर्न भनि बुधबार दुवै जना घरबाट निस्केको र बेलुका घर नआएपछि घरपरिवार र गाउँले मिलेर खोज्ने क्रममा तीन दिनपछि आज बिहान भाङ्गेटारको जंगलमा मृतावस्थामा फेला पारेको हो ।
अध्यक्ष तामाङका अनुसार मृत फेला पर्नेमा सोही वडाका अन्दाजी ५० वर्षीय सञ्चर सिं लामा र ४० वर्षीय नरबहादुर लामा रहेका छन् । उनीहरूसँगै गएको एक कुकुर पनि सोही ठाउँमा मृतावस्थामा भेटिएको जनाइएको छ ।
मृतकको शरीर केही जलेको जस्तो देखिएको र एक जनाको आँखा फुटेको र अर्कोको कपडा च्यातिएको अवस्थामा रहेको छ । घटनाको जानकारी आएपछि घटनास्थलतर्फ प्रहरीको टोली पठाइसकेको भए पनि घटनास्थल नपुगेको कारण विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।