
विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा शनिवार पत्रकारसँग कुरा गर्दै उनले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको छ भने ।
सभापति देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने तथा मानवअधिकार कुण्ठित हुने गरी संसद्मा ल्याएका विधेयकहरु कांग्रेसले पारित हुन नदिने बताए । उनले भने, 'प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ । जबर्जस्ती गर्न खोजे कुनै पनि हालतमा पारित हुन दिँदैनौं ।’’
सरकारले ल्याउने बजेट विपक्षी दलसँगको छलफल एवं सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै उनले एक पक्षीय ढङ्गले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे आफूहरूलाई मान्य नहुने बताए । पूर्व प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले सदनमा प्रतिपक्षको प्रभावकारी भूमिका खेलेको पनि उल्लेख गरे ।
सभापति देउवाले पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर जनतामा राम्रो सन्देश गएको बताउँदै यसबाट पार्टीलाई नयाँ जोश र थप ऊर्जा प्राप्त भएको विचार व्यक्त गरे ।