
चीनको हुआवे कम्पनीको अमेरिकासँगको सम्बन्ध विगत एक दशकदेखि उतारचढावपूर्ण छ । अघिल्लो साता ट्रम्प प्रशासनले अमेरिकी व्यापारिक संस्थाहरूलाई हुआवेसँग व्यापार गर्न प्रतिबन्ध लगाएपछि यो सम्बन्ध विस्फोटको स्थितिमा पुगेको छ ।
अमेरिकाले हुआवे अवैध गतिविधिमा संलग्न रहेको भनी लामो समयदेखि शंका गरेको भए पनि हालैको समयमा यति धेरै चिन्ता लिनुपर्ने गरी हुआवेले केही विशेष गरेको थिएन । उसमाथिको प्रतिबन्ध घोषणाले विश्लेषकहरूलाई पनि आश्चर्यचकित बनायो ।
अमेरिकी प्रशासनको घोषणापछि गूगलको एन्ड्रोइड सर्भिसेजले हुआवेसँगको साइनो तोडेको बतायो । अब बन्ने हुआवे फोनमा एन्ड्रोइडले काम नगर्ने भएको छ । त्यसपछि हुआवेका सीईओ रेन झेङफेईले हुआवे आफैं नयाँ अपरेटिङ सिस्टम विकसित गर्न सक्षम रहेको दाबी गरेका छन् ।
त्यसो त ट्रम्प प्रशासले सोमवार प्रतिबन्धलाई आंशिक रूपमा खुकुलो बनाएको छ । तीन महिनाको अवधिमा अमेरिकी कम्पनीहरूले हुआवेसँगको व्यापारको छिनोफानो गर्न समय पाएका छन् । तर यो खुकुलोपनले हुआवेको उपकरण प्रयोग गर्ने ग्रामीण अमेरिकी नेटवर्क प्रदायकहरूलाई मात्र सुविधा दिएको हो । हुआवे आफैं र अधिकांश अमेरिकी कम्पनीहरूका लागि कठोर प्रतिबन्ध कायम छ ।
हुआवेप्रति अमेरिकी अधिकारीहरू किन यति क्रुद्ध हुन पुगे त ? यसका विभिन्न कारण छन् ।
अमेरिका–चीन व्यापारयुद्ध
अमेरिका र चीन एक वर्षभन्दा बढी समयदेखि तिक्ततापूर्ण व्यापारयुद्धमा छन् र हुआवे बाच्छाको मिचाइमा परेको छ ।
हुआवे ठूलो बार्गेनिङ चिपका रूपमा रहेको छ । यो चीनको विशाल दूरसञ्चार कम्पनी हो र संसारको शीर्ष स्मार्टफोन निर्माता बन्ने लक्ष्य यसले बोकेको छ । हुआवेले अघिल्लो वर्ष १०५ अर्ब डलर बराबरको बिक्री गरेको थियो जुन आईबीएमको भन्दा धेरै हो ।
राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ चीनसँगको व्यापार वार्ताका क्रममा हुआवेमाथिको प्रतिबन्धलाई खुकुलो बनाउने संकेत दिएका छन् ।
चिनियाँ सरकारसँगको सम्बन्ध
सन् २०१२ मा अमेरिकी हाउस इन्टेलिजेन्स कमिटीले एक वर्षको अनुसन्धानपछि एउटा प्रतिवेदन प्रकाशित गरेर हुआवे अमेरिकाका लागि सुरक्षा खतराका रूपमा रहेको बताएको थियो । प्रतिवेदनमा हुआवे र चिनियाँ टेलिकम कम्पनी जेडटीईले चिनियाँ सरकारका लागि काम गरेको र उनीहरूलाई अमेरिका वायरलेस सञ्जालमाथि नियन्त्रण गर्ने महत्त्वपूर्ण संरचना सञ्चालन गर्न दिन नहुने उल्लेख गरिएको थियो ।
हुआवेले आफू चिनियाँ सरकारभन्दा स्वतन्त्र रहेर कामकाज गरिरहेको बताएको छ । तर हुआवेले सञ्चालन गरेको प्रविधिले नेटवर्कहरूमा जासूसी गर्ने गरेको अमेरिकाले आशंका गरेको छ । हुआवेले जासूसीको आरोपलाई लगातार खण्डन गरिरहेको छ । तर अमेरिकाले उसलाई ब्रोडब्यान्ड र वायरलेस सम्झौताबाट झिकेको छ र ट्रम्प प्रशासनले हुआवेको दूरसञ्चार उपकरण किन्नबाट संसारलाई रोक्नका लागि दबाब दिइरहेको छ ।
हुआवेले चिनियाँ सरकारसँग सम्बन्ध नरहेको र आफ्नो उपकरणले जोखिम पनि नपार्ने दाबी गरिरहेको छ । जेडटीईले पनि यी आरोपलाई अस्वीकार गरेको छ र अघिल्लो वर्ष अमेरिकी सरकारको निरीक्षणमा रहन सहमति जनाएको थियो ।
इरानसँगको सम्बन्ध
ट्रम्प प्रशासनले हुआवेविरुद्ध सन् २०१९ को आरम्भतिर फौजदारी अभियोग दर्ता गरेको थियो । इरानमा अमेरिकाले लगाएको प्रतिबन्धलाई कम्पनीले छल्न खोजेको दाबी गरिएको थियो ।
त्यही मुद्दाको सिलसिलामा क्यानडाले हुआवेकी प्रमुख आर्थिक अधिकारी मेङ वान्चोलाई हिरासतमा लिएको थियो । उनलाई अमेरिकासमक्ष सुपूर्दगी गराइने सम्भावना छ ।
इरानमा आफूले गरेको व्यापारका विषयमा हुआवेले आर्थिक संस्थान तथा अमेरिकी सरकारलाई धोका दिएको आरोप लगाइएको छ । हुआवेका संस्थापक रेन झेङफेईले सन् २००७ मा एफबीआईलाई कम्पनीले अमेरिकी निर्यात कानूनको उल्लंघन नगरेको र कुनै पनि इरानी कम्पनीसँग सीधै डील नगरेको भनी झूटो बोलेको आरोप अमेरिकाले लगाएको छ ।
हुआवेले आफू दोषी नरहेको भन्दै सबै आरोप अस्वीकार गरेको छ । चीनले यी आरोपहरू हुआवेलाई बदनाम गराउने अभियान भएको बतायो । मेङले आफूमाथिको आरोप अस्वीकार गरेकी छन् । रेनले यी आरोपमाथि टिप्पणी गरेका छैनन् तर अमेरिका नआउने बताएका छन् । उनले अमेरिकामा अभियोगको सामना गर्नुपर्ने हुन सक्छ ।
बौद्धिक सम्पत्ति चोरीको आरोप
ट्रम्प प्रशासनले हुआवेविरुद्ध टी–मोबाइलबाट व्यापार रहस्यहरू चारेको आरोप लगाएर समेत मुद्दा दायर गरेको छ ।
मुद्दामा उल्लिखित विवरणअनुसार, हुआवेले टी–मोबाइलको फोन परीक्षण प्रविधि ट्याप्पीलाई चोर्नका लागि वर्षौंसम्म काम गरेको थियो । हुआवेले टी–मोबाइललाई फोन आपूर्ति गरेको थियो अनि ट्याप्पीका बारेमा केही जानकारी हासिल गरेको थियो, मुद्दामा उल्लिखत छ । टी–मोबाइल कम्पनीका कर्मचारीलाई विभिन्न अवयवका तस्वीर, नाप र सिरियल नम्बर सम्बन्धी जानकारी पठाउन लगाइएको आरोप छ ।
आफ्ना प्रतिस्पर्धीहरूका बारेमा गोप्य सूचना संकलन गर्ने कर्मचारीलाई बोनस दिने प्रतिज्ञा हुआवेको व्यवस्थापनले गरेको अमेरिकी सरकारको आरोप छ ।
हुआवेले यो आरोपको पनि खण्डन गरेको छ ।
प्रविधिको भविष्यका लागि लडाईं
हुआवेको प्रविधि ५जी को भविष्यका लागि आवश्यक छ । ५जी प्रविधिमा अमेरिकाले जसरी भए पनि प्रभुत्व जमाउन चाहेको छ ।
हुआवे ५जीको अग्रणी हो र यसले ताररहित सञ्जालका ५जी रोलआउटहरूलाई सपोर्ट गर्ने प्रविधि दिन्छ । उसका ठूला प्रतिस्पर्धीहरू नोकिया र एरिकसन हुन् । हुआवे चाहिँ ती दुवैभन्दा ठूलो कम्पनी हो र उसले प्रविधि थप तीव्र गति अनि झन् सस्तो दरमा उपलब्ध गराउन सक्छ ।
अमेरिकाले हुआवेको नेटवर्किङ प्रविधि त्यति प्रयोग गरेको छैन तर यो अमेरिकाका ग्रामीण क्षेत्रमा छ्यापछ्याप्ती भेटिन्छ । यसको विस्तार युरोप, एसिया र अन्य क्षेत्रमा पनि भएको छ ।
अमेरिका आफ्नै दूरसञ्चार कम्पनीहरू नयाँ प्रविधिको अग्रस्थानमा रहून् भनी सुनिश्चित गर्न चाहन्छ । ५जीले अर्थतन्त्रमै परिवर्तन ल्याउने प्रविधिका लहरहरू भित्र्याउन सक्छ जसमा चालकरहित कार पनि पर्छ ।
भविष्यको आशा ?
हुआवे र अमेरिकाबीच गतिरोध आए पनि ट्रम्प प्रशासन र एक चिनियाँ प्रविधि कम्पनीबीच विगतमा भएको विवादले हुआवेका लागि अगाडिको सम्भावित बाटो देखाएको छ ।
सन् २०१८ को अप्रिल महिनामा अमेरिकी अधिकारीहरूलाई जेडटीईले उत्तर कोरिया तथा इरानविरुद्धको अमेरिकी प्रतिबन्धको उल्लंघन गरेको विषयमा ढाँटेको अमेरिकी वाणिज्य मन्त्रालयले आरोप लगाएको थियो । अनि अमेरिकाले जेडटीईलाई अवयवहरू बेच्न अमेरिकी कम्पनीहरूलाई प्रतिबन्ध लगाएको थियो जसले गर्दा उसले प्रमुख आपूर्तिकर्ताबाट चिप र शीशा किन्न पाएको थिएन ।
तर त्यसको एक महिनापछि ट्रम्पले चिनियाँ राष्ट्रपति शी चिनफिङसँग व्यक्तिगत रूपमा कुरा गरेर जेडटीईलाई छिट्टै व्यापारमा फर्काउने बताए । अमेरिकाले दिएको सजायका कारण धेरै चिनियाँहरूको रोजगारी खोसिएको उनको भनाइ थियो । जेडटीईले आफूमाथिको निरीक्षणमा सहमति जनाएपछि ट्रम्प प्रशासनले यी प्रतिबन्धहरू हटाएको थियो ।
ट्रम्प प्रशासनले जेडटीईभन्दा निकै ठूलो कम्पनी हुआवेलाई चीनसँगको व्यापारयुद्धका लागि बार्गेनिङ चिपका रूपमा प्रयोग गरेको हो भने उसले कम्पनीमाथिको नियन्त्रण खुकुलो बनाएको बदलामा चीनबाट राजनीतिक छुटको माग गर्न सक्छ ।
तर हुआवे दुई देशबीचको समस्याको समाधान कुरेर बसिरहेको छैन । मार्च महिनामा आफ्नो वैश्विक प्रभावलाई अमेरिकाले हाल्न खोजेको भाँजोविरुद्ध लड्नका लागि उसले अमेरिकी सरकारमाथि मुद्दा हालेको थियो । अमेरिकी सरकारका अधिकारीहरूले यस मुद्दामा टिप्पणी गरेका छैनन् ।
सीएनएनमा प्रकाशित डेभिड गोल्डम्यानको विश्लेषण