काठमाडौं – उत्तर प्रदेशमा फेरि एकपटक भारतीय जनता पार्टीले भारी विजय प्राप्त गर्ने लक्षण देखिएको छ । मतगणनाको आरम्भिक रुझानमा भाजपाले ५० भन्दा बढी सीटमा अग्रता लिएको देखिएको छ ।
सपा, बसपा र आरएलडीको महागठबन्धनले भाजपालाई कडा चुनौती दिने अपेक्षा गरिएको थियो तर ऊ भाजपाभन्दा निकै पछि छ ।
उत्तर प्रदेशमा लोकसभाका सबभन्दा बढी सीट छन् । कुल ५४३ सीटमध्ये ८० सीट त उत्तर प्रदेशमै छन् । लोकसभामा कुनै पनि दल वा गठबन्धनलाई जीत दिलाउने भनेकै उत्तर प्रदेशले हो ।
सन् २०१४ मा मोदी लहर चल्दा भाजपाले ७१ सीट जितेको थियो जसले गर्दा पनि दलले २८२ सीट ल्याएको थियो ।
त्यतिखेरको भव्य परिणामले परम्परागत जातीउ राजनीतिलाई विस्थापन गरेर विकासको एजेन्डालाई स्थापित गरिदिएको थियो र हिन्दू भोटलाई एकजुट बनाएको थियो ।
त्यतिखेर समाजवादी पार्टी जम्मा सात सीटमा खुम्चिएको थियो र बहुजन समाज पार्टीले त झन् खाता समेत खोल्न सकेको थिएन ।
उत्तर प्रदेशको चुनावी संघर्षको आयाम परिवर्तन भइरहेको बताइन्छ । सन् २०१९ को लोकसभा चुनावअघि भएको सबभन्दा महत्त्वपूर्ण प्रगति भनेको बसपा र सपाबीचको गठबन्धन हो । दुई दलले २५ वर्षभन्दा लामो समयसम्म चलेको शत्रुतालाई बिर्सिएर भाजपाविरुद्ध लड्न हात मिलाएका थिए ।
तर उनीहरूको महागठबन्धनले भाजपाको विजय रथलाई खासै रोक्न सकेको देखिएको छैन ।
दी इन्डियन एक्सप्रेसबाट