
पोखरा – पोखरा महानगरपालिकाले नगरलाई सफासुग्घर राख्ने उद्देश्यले टोलटोलमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।
पोखरामा नागरिक चाप अत्यधिक भएको स्थलमा चालू आर्थिक वर्षमा १० सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य राखिएको हो ।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शौचालय निर्माणका लागि १ करोड विनियोजन गरिएको र क्रमिकरूपमा नगरपालिकाको टोलटोलमा सार्वजनिक शौचालय निर्माण गरिने जानकारी गराए । पोखराको हल्लनचोक र डेभिजफल्समा पूर्ण अपाङ्गता मैत्रीसहितका शौचालय निर्माणकार्य अघि बढेको महानगरपालिकाको शहरी पूर्वाधार महाशाखाले जनाएको छ ।
सोअनुरुप पोखराको वडा नम्बर ७ स्थित मालपोत, वडा नम्बर १ स्थित हरिचोक, वडा नम्बर २५ को मिलनचोक, वडा नम्बर २६ को राखीडाँडा, वडा नम्बर २८ को रत्नशोभा माविको परिसर, वडा नम्बर १८ को भकुण्डे, वडा नम्बर २१ को दोबिल्ला वनभोजस्थल र गौरीशंकर आधारभूत विद्यालयको परिसरमा आधुनिक शौचालय निर्माण गरिने सो महाशाखाले जनाएको छ ।
यसका साथै प्रदेश सरकारले पोखराको चार ठाउँमा स्मार्ट शौचालय निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । हल्लनचोक, डेभिजफल्स, पोखरा–७ स्थित मालपोत र वडा नम्बर १ स्थित हरिचोकमा स्मार्ट शौचालय निर्माण गरिने जानकारी गराइएको छ ।
यसैबीच, पोखरा–२१ मा सार्वजनिक शौचालय निर्माणको काम शुरू भइसकेको वडाध्यक्ष खगराज आचार्यले जानकारी गराएका छन् । यस वडाका ३१ वटै टोलमा १/१ सार्वजनिक शौचालय निर्माण गरिने लक्ष्य राखिएको उनले बताए ।
महानगरपालिकाका विभिन्न टोलका साथै व्यस्त ठाउँमा शौचालय निर्माण भएपछि सरसफाइका साथै सर्वसाधारणले राहतको अनुभूति गर्ने विश्वास लिइएको छ ।