काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१९ मा अघिल्लोपटकको भन्दा धेर सीट प्राप्त भएको छ । स्पष्ट बहुमतको सरकार चलाउँदा उनले राष्ट्रपतीय शैली अपनाउने सम्भावना देखिन्छ ।
पहिलो कार्यकालमा मोदीले आफ्नो क्याबिनेट राष्ट्रपतीय शैलीमा चलाएका थिए । उनका अधिकतर निर्णयमा उनलाई मन्त्रीहरूको भिटोको कुनै डरै रहेन । अमेरिकी राष्ट्रपतिले पनि यसैगरी आफ्नो टीम सञ्चालन गर्छन् ।
दोस्रो कार्यकाल चलाउन भाजपा एक्लैले अघिल्लोपटकको भन्दा बढी सीट ल्याएपछि त मोदीले राष्ट्रपतीय शैलीमा काम गर्ने प्रबल सम्भावना छ । मोदीले पहिलो कार्यकालमा सहयोगीहरूको सुझाव त लिए तर अन्तिम निर्णय आफैं गरे । मन्त्रीहरू र वरिष्ठहरूलाई स्पेस त दिए तर पूरै मिसनको नेतृत्व चाहिँ आफैंले लिए ।
उनले भाजपाको जननी संगठन आरएसएसको कुरा पनि सम्मानका साथ सुने । मन्त्रीहरूको तालमेल पनि उनले संघसँग बनाए । तर संगठनहरूका हरेक माग उनले स्वीकार गरेनन् । अहिले उनले पाएको जनादेशपछि उनले राष्ट्रपतीय शैलीमै काम गर्ने देखिन्छ ।
गठबन्धन सहयोगीहरूको दबाब मोदीलाई पर्ने छैन । अनि भाजपासँग नयाँ गठबन्धन बनाउन चाहने दलले पनि उसलाई दबाब दिन सक्ने छैनन् ।
एजेन्सी