२४ जेठ २०८३, आइतबार

कहाँ पुग्यो दुई वर्षअघि बजेटमा आएको कोटेश्वर–सूर्यविनायक सुरुङ मार्ग ?

जेठ १२, २०७६
कहाँ पुग्यो दुई वर्षअघि बजेटमा आएको कोटेश्वर–सूर्यविनायक सुरुङ मार्ग ?
प्रतिकात्मक तस्वीर

काठमाडौं – सरकारले दुई वर्षअघि नै अघि सारेको कोटेश्वर–सूर्य विनायक सुरुङ बनाउने योजना अलपत्र परेको छ ।

आर्थिक वर्ष २०७४/०७५को बजेट वक्तव्यमार्फत कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङ मार्गमा परिणत गर्ने घोषणा गरिएको थियो । तर २ वर्ष समय बितिसक्दा र आगामी आर्थिक वर्ष २०७६/०७७को बजेट समेत आउनै लाग्दा उक्त सुरुङ मार्गको काम शुरू हुन सकेको छैन ।

विमानस्थलको धावनमार्ग विस्तार गर्न र विमानस्थल क्षेत्रवरिपरि हुने ट्याक्सी पार्किङ व्यवस्थित गर्ने उद्देश्यले सरकारले दुई वर्षअघि कोटेश्वरदेखि–सूर्यविनायक सडकलाई सुरुङ मार्गमा परिणत गर्ने घोषणा गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

विमानस्थल व्यवस्थित गर्न र कोटेश्वर क्षेत्रमा पर्ने ट्राफिक जाम हटाउनका लागि कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङ मार्गमा परिणत गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको थियो ।

सुरुङमार्ग निर्माणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान तथा अवतरणका लागि पर्याप्त ठाउँ हुने विश्वास भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लिएको थियो ।

सुरुङ मार्ग निर्माणपछि कोटेश्वर– सूर्यविनायक सुरुङ मार्गबाट सवारी साधन आवतजावत गर्ने सरकारी योजना थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोटेश्वर – सूर्यविनायक सडकमा सुरुङ मार्ग निर्माणको काम भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका सहसचिव शिवहरि सापकोटले सुरुङ मार्ग निर्माणका लागि जापानी अध्ययन टोलीले सडक विभागसँगको सहकार्यमा अध्ययन गरिरहेको जानकारी दिए । ‘सडक विभागसँगको सहकार्यमा जाइकाले प्रिमिनरी स्टडी गर्दैछ’ सापकोटाले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा पनि त्यसलाई निरन्तरता दिइने कुरा छ । अलपत्र भन्न मिल्दैन ।’

सडक विभागका सह-प्रवक्ता अर्जुन सुवालले जाइकाले अध्ययन गरेर दुईवटा विकल्प दिएको र त्यसको बारेमा विभागबाट निर्णय हुन बाँकी रहेको जानकारी दिए । ‘आकाशे पुल बनाउने वा सुरुङमार्ग बनाउने दुईवटा विकाल्प दिएको थियो,’ सुवालले लोकान्तरसँग भने, ‘त्यसको बारेमा विभागबाट निर्णय हुन बाँकी छ ।’

सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि कोटेश्वरमा सुरुङ मार्ग, बानेश्वर र त्रिपुरेश्वरमा आकाशे पुल निर्माण गर्ने योजना अघि सार्ने भएको छ । त्यसका लागि सडक विभागले आवश्यक बजेट माग गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्